वीरगञ्ज । मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि थप तीन वटा शैक्षिक कार्यक्रम विस्तार गर्न लागेको छ । हाल स्नातकोत्तर तहमा जनप्रशासन (एमपीए), कानुन सङ्कायतर्फ स्नातक (बीए एलएलबी) र जनप्रशासन सङ्कायतर्फ स्नातकमा जनव्यवस्थापन (बीपीएम) कक्षा सञ्चालन गर्दै आएको पर्साको वीरगञ्जस्थित मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्रमा थप तीन वटा शैक्षिक कार्यक्रम विस्तार गर्न लागेको हो ।
मधेस विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवका अनुसार विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८३ देखि स्नातकोत्तर तहको मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रसन (एमबीए) तथा स्नातक तहको ब्याचलर अफ ल (एलएलबी) र ब्याचलर अफ बिजनेस एडमिनिष्ट्रिसन (बीबीए) को पठनपाठन सुरु गर्न लागेको छ ।
“तीन वटै सङ्कायको पठनपाठनका लागि पाठ्यक्रम तयार भइसकेको छ”, रजिष्ट्रार यादवले भने, “यही शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने गरी तयारी भएको छ । छिट्टै यसबारे हामीले सूचना प्रकाशन गर्ने छौँ ।” विश्वविद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमहरूमा विद्यार्थीको आकर्षण बढ्दै गएपछि थप शैक्षिक कार्यक्रम विस्तार गर्न लागिएको उनले बताए ।
विसं २०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन, २०७९ जारी भई २०७९ भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले पहिलो एक वर्षमा दुई वटा सङ्कायको पठनपाठन सुरु गरेको थियो । विश्वविद्यालयले वीरगञ्जस्थित नेसनल ट्रेडिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ ।
अनुसन्धान र प्रशिक्षणको माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन सकिने मान्यताअनुरुप मधेस विश्वविद्यालयलाई प्रदेशमा पहिलो मधेस अनुसन्धान तथा प्रशिक्षण केन्द्रको स्थापना गर्ने लक्ष्य रहेको विश्वविद्यालयका उपकुलपति प्राडा दीपकबहादुर शाक्यले बताए ।
“हामीले सञ्चालन गरेको कक्षाहरूमा विद्यार्थीको आकर्षण देखेर उत्साहित भएका छौँ”, उपकुलपति प्राडा शाक्यले भने, “आगामी दिनमा मेडिकल, ल्याब टेक्निसियन, फिजियोथेरापीलगायत चिकित्सा र स्वास्थ्यसम्बन्धी कक्षा पनि सञ्चालन गर्ने लक्ष्य राखेका छौँ ।” तत्कालका लागि वीरगञ्जको नारायणी अस्पताल र पोखरियास्थित पोखरिया अस्पतालाई आधार बनाएर चिकित्साशास्त्रमा एमबीबीएस कक्षा सञ्चालन गर्ने योजना बनाएर प्राविधिक टोलीबाट सम्भाव्यता अध्ययन गरिने तयारी भएको उनको भनाइ छ ।
मधेस विश्वविद्यालयको उच्च शिक्षालाई अनुसन्धामूलक बनाउने दृष्टिले ‘एमफिल पिएचडी’सँगै फार्मेसी र विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित प्राविधिक शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्ने लक्ष्य लिएको उपकुलपति प्रा डा शाक्यले जानकारी दिए ।
मधेस प्रदेशका ग्रामीण क्षेत्रका जनतालाई उच्च शिक्षामा सहज पहुँच विस्तार गर्दै शिक्षालाई श्रम, श्रमलाई सीपसँग र सीपलाई समृद्धिसँग जोड्ने उद्देउश्यका साथ दक्ष जनशक्ति उत्पादन गर्नका लागि प्रदेशमा पहिलो ‘मधेस सीप स्कुल’ स्थापना गर्ने योजना रहेको उनले बताए । रासस




प्रतिक्रिया