आज तीन वटा संसदीय समितिको बैठक बस्दै


काठमाडौं, साउन ४ । संघीय संसद्अन्तर्गत आज सोमबार तीन वटा विषयगत समितिको बैठक बस्दै छ। राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११:०० बजेका लागि बोलाइएको छ। सो बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन’ प्रतिवेदनमाथि विस्तृत छलफल हुने कार्यसूची रहेको छ।

त्यस्तै, दिउँसो १:०० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मधेश र बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा गरिएको स्थलगत अनुगमनको समीक्षा तथा विविध विषयमा छलफल हुनेछ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २:१५ बजे बस्नेछ। सो बैठकमा ऐन कार्यान्वयनको मापन, विधायिकी अन्तरसम्बन्ध तथा अन्य विविध समसामयिक विषयहरूमा छलफल हुने कार्यसूची तय गरिएको छ।