बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा


काठमाडौं, साउन ४ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द रहँदा करिब तीन करोड रुपैयाँको आर्थिक क्षति भएको छ ।

बर्डफ्लु संक्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत ५ असारदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो । संक्रमण नियन्त्रणमा आएपछि यही १ साउनदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ ।

चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार संक्रमण देखिएपछि नियमित सरसफाइ, संक्रमित जीवजन्तुको उपचार तथा आवश्यक सावधानी अपनाइएको थियो । त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो ।

उनका अनुसार सामान्य दिनमा दैनिक एक हजार ७०० देखि एक हजार ८०० आगन्तुकले चिडियाखाना भ्रमण गर्ने गरेका थिए । शनिबार पाँच हजारदेखि सात हजार र आइतबार तीन हजार ५०० देखि पाँच हजार जनासम्मले चिडियाखानामा समय बिताउने गरेका थिए ।

पुनः सञ्चालन भएको पहिलो दिन, १ साउनमा ८ सय जनाले मात्र चिडियाखाना भ्रमण गरेका थिए । चिडियाखानाले बालबालिका र ज्येष्ठ नागरिकका लागि १००, विद्यार्थीका लागि १५० र अन्य आगन्तुकका लागि २५० प्रवेश शुल्क लिँदै आएको छ ।

गत आर्थिक वर्षमा चिडियाखानाले करिब १८ करोड आम्दानी गरेको थियो । आर्थिक वर्ष २०८२–८३ मा २१ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको भए पनि बर्डफ्लुका कारण लामो समय बन्द रहँदा लक्ष्य पूरा गर्न चुनौती थपिएको प्रशासनले जनाएको छ ।