इक्यानकाे मागप्रति एफएनसीसीआईकाे ऐक्यबद्धता,नियमावली संशोधनका लागि मन्त्रालयमा पहल


काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले केही दिने देखि सरकारले भर्खरै जारी गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ मा आपत्ति जनाउँदै केही प्रावधानलाई संशोधन गर्न माग गरिरहेको छ । यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले पनि इक्यानको मागप्रति ऐक्यबद्धता जनाएको छ ।

इक्यानले वस्तुगत सदस्यका रूपमा एफएनसीसीआईसमक्ष पेश गरेको नियमावली संशोधनसम्बन्धी मागमा महासंघले समर्थन जनाउँदै शिक्षा तथा खेलकुद मन्त्रालयमा औपचारिक पहल गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको हस्ताक्षरमा शिक्षा तथा खेलकुदमन्त्रीलाई पठाइएको पत्रमा नियमावलीका केही प्रावधानले निजी क्षेत्रको लगानी, रोजगारी, व्यवसायिक वातावरण र उद्यमशीलतामा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गरिएको छ ।

पत्रमार्फत सरोकारवालासँग पर्याप्त छलफल नगरी ल्याइएका अव्यावहारिक प्रावधान पुनर्विचार गर्न, इक्यानलगायत सम्बन्धित पक्षको सहभागितामा कार्यदल गठन गरी समाधान खोज्न तथा निजी क्षेत्रको लगानी सुरक्षा र राज्यको नियामकीय भूमिकाबीच सन्तुलन कायम गर्न अनुरोध गरिएको छ ।