पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी


बागमती, ५ साउन । जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने भएको छ ।

गाउँपालिका क्षेत्रभित्र घरबासका सम्भावना भएका गाउँको प्रवर्द्धन र विकाससँगै ती घरबासलाई उत्पादनसँग जोड्ने नीति लिइएको गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए ।

उनका अनुसार गाउँपालिकाले मकवानपुरगढी गाउँपालिका–२ गढीदरबारस्थित होमस्टेका र ढुङ्गेगढीस्थित होमस्टे तथा वडा नं ८ बुढीचौरस्थित होमस्टेलगायतलाई व्यवस्थित बनाउन खोजिएको छ ।

गाउँपालिकाले कृषि पर्यटनमा पनि जोड दिँदै आएको छ । त्यस पालिकाको वडा नं ८ मा प्रदेश तथा स्थानीय तहको साझेदारीमा उन्नत तरकारी बाली विकास तथा वडा नं ३ मा गाई पकेट कार्यक्रम सञ्चालन भइरहेको छ । पालिकाबाट भदौ–असोजमा दैनिक २२–२३ हजार लिटरसम्म दूध उत्पादन हुने गरेको जानकारी दिए ।

पशुपालनलाई आधुनिक प्रविधिसँग जोड्दै दुग्ध, मासु तथा पशुजन्य उत्पादनको मूल्य शृङ्खला विकास गरिने नीति अघि बढाउँदै पालिकाले पशु बिमा, खोप, कृत्रिम गर्भाधान, घाँस उत्पादनमा ध्यान केन्द्रित गरेको जनाएको छ ।

कृषि क्षेत्रलाई उत्पादनमुखीमात्र नभई बजारमुखी बनाउने सोचका साथ पालिकाले रैथाने बाली संरक्षण, जैविक खेती, स्मार्ट कृषि, सिँचाइ विस्तार, किसान परिचयपत्र तथा उत्पादनमा आधारित प्रोत्साहनलाई संस्थागत गरिने जनाएको छ ।

पर्यटन क्षेत्रलाई स्थानीय अर्थतन्त्रसँग जोड्दै मकवानपुरगढी दरबार, ऋखेश्वर गुफा, ढुङ्गेगढी, मनकामना क्षेत्र, छत्रेलेक पाथिभरा मन्दिर, बिपी पार्क तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने नीतिसमेत पालिकाले अघि सारेको छ ।

भाषा, कला, संस्कृति तथा स्थानीय पहिचानको संरक्षण गर्दै तामाङ संस्कृति, लोकबाजा, परम्परागत ज्ञान र स्थानीय पर्वको प्रवर्द्धन गरिने अध्यक्ष स्याङ्तानले स्पष्ट पारे ।