काठमाडौँ । आफ्नो बेजोड प्रस्तुति र निडर शैलीका लागि चिनिएका चर्चित पत्रकार ऋषि धमलाले शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले लगाएको करको मंगलबार बिहान तीव्र आक्रोश व्यक्त गरेका थिए । काठमाडौँको बाँसबारीस्थित प्रतिष्ठित विश्व शान्ति चिरन मिलन सामुदायिक क्याम्पसमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताका मौलिक अधिकारमाथि कर लगाउनु राज्यको ठूलो गल्ती भएको दाबी गरे।
क्याम्पसको मञ्चबाटै सरकार र शीर्ष नेताहरूलाई खबरदारी गर्दै वरिष्ठ पत्रकार धमलाले भने, ‘हाम्रो शिक्षा र स्वास्थ्यलाई तत्काल सुधार गर्नुपर्छ। शिक्षा र स्वास्थ्यमा कर नलगाउनुस् भनेर निरन्तर आवाज उठाउने मान्छे मै हुँ । यो देशमा शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क हुनुपर्नेमा उल्टै कर लगाएर ठूलो गल्ती गरिएको छ।’
आफ्नो प्रभावकारी पहुँच र पहुँचयोग्य पत्रकारिताको स्मरण गराउँदै धमलाले थपे, ‘मैले तीन–तीनपटक प्रधानमन्त्री बालेन शाहको अन्तर्वार्ता लिएर यो विषय उठाएको छु। म शिक्षामन्त्री सस्मित पोखरेललाई पनि प्रस्ट भन्छु— शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ, कर लगाउने होइन। यो निर्णय पूर्णतः गलत छ।’
सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उनले भने, ‘म रवि लामिछानेजीलाई पनि आग्रह गर्छु— शिक्षा र स्वास्थ्यमा कर लगाउन पाइँदैन । यस्तै, स्वतन्त्र नागरिक अभियानको मागअनुसार त्रिभुवन विश्वविद्यालयले सामुदायिक क्याम्पसहरूलाई दिनुपर्ने सम्पूर्ण अधिकार अविलम्ब दिनुपर्छ।’
धमला नेतृत्वको स्वतन्त्र नागरिक अभियानको दबाबसँगै प्रधानमन्त्री बालेन शाहले मंगलबार दिउँसो उक्त कर तत्कालका लागि फिर्ता लिएका घोषणा गरेका थिए ।
देशको वर्तमान राजनीति र युवा असन्तोषबारे बोल्दै धमलाले पछिल्ला जनआन्दोलन र विद्यार्थी आन्दोलनको कारण सरकारको बेवास्ता नै भएको बताए। ‘यो सरकारले युवाको चाहनाअनुसार काम गर्नैपर्छ। गरिब, निमुखा र असहाय जनतालाई राहत दिनुपर्छ, निःशुल्क बत्ती बाल्न दिनुपर्छ। अनि मात्र देशमा विकास र आर्थिक समृद्धि सम्भव छ,’ धमलाले कडा शब्दमा भने, ‘जेनजी आन्दोलन त्यसै भएको होइन, विद्यार्थीहरू त्यसै सडकमा ओर्लिएका होइनन् ।’
विश्व शान्ति चिरन मिलन सामुदायिक क्याम्पसको उच्च प्रशंसा गर्दै उनले ख्यातिप्राप्त र दक्ष गुरुहरूले सञ्चालन गरेको यो क्याम्पसले न्यून तथा मध्यम वर्गीय परिवारका विद्यार्थीका लागि ठूलो योगदान पुर्याएको बताए।
यसैबीच, अभियानका अध्यक्ष धमलाले आफूलाई ज्ञान दिएका गुरुलाई कहिल्यै नबिर्सन पनि कलेजका विद्यार्थीहरुसँग आग्रह गरे ।
उक्त कार्यक्रममा क्याम्पसका विभिन्न प्राध्यापक, बुद्धिजीवी तथा प्रतिष्ठित व्यक्तित्वहरूले पनि आ–आफ्नो धारणा व्यक्त गर्दै सामुदायिक शिक्षाको सुदृढीकरणमा जोड दिएका थिए।




प्रतिक्रिया