काठमाडौँ । चर्चित पत्रकार तथा ‘स्वतन्त्र नागरिक अभियान’का अध्यक्ष ऋषि धमलाले बालेन शाह नेतृत्वको वर्तमान सरकारले जनताको आवाज सुन्न थालेको भन्दै खुसी व्यक्त गरेका छन्।
मंगलबार साँझ आयोजित स्वतन्त्र नागरिक अभियानको आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै धमलाले आफूले आजै बिहान सामुदायिक कलेजको कार्यक्रममा उठाएको शिक्षा र स्वास्थ्य क्षेत्रको कर खारेजीको मुद्दालाई दिउँसो नै प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले सम्बोधन गरेको भन्दै सरकारको कदमको प्रशंसा गरे।
“मैले आज बिहानै शिक्षा र स्वास्थ्यमा लगाइएको कर खारेज हुनुपर्छ भनेर जोडदार रूपमा आवाज उठाएको थिएँ, दिउँसो नै सरकारले त्यो कर हटाउने निर्णय गर्यो,” धमलाले भने, “नागरिक र हाम्रो मागलाई सरकारले सुन्यो। जनताको आवाज सम्बोधन गरेकोमा सरकार र रवि–बालेनलाई धन्यवाद छ।”
यद्यपि, शिक्षा र स्वास्थ्यमा मात्र कर घटाएर नपुग्ने भन्दै उनले बिजुली, कृषि र राइड सेयरिङ (पठाओ) मा लगाइएको करसमेत तत्काल फिर्ता लिनुपर्ने माग राखे। जलस्रोतको धनी देशमा विपन्न वर्गलाई निःशुल्क बिजुली उपलब्ध गराउनुपर्ने र स्वरोजगारमा रहेका युवाहरूमाथि करको भार थोपर्न नहुने उनको तर्क थियो।
मुलुकको समग्र अर्थतन्त्र र राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले बैंकहरूमा अर्बौँ रुपैयाँ थुप्रिए पनि वास्तविक किसान र गरिबहरूले सहजै ऋण नपाएको बताए। “बैंकबाट ऋण नपाएकै कारण किसानहरू साहुकहाँ चर्को ब्याजमा ऋण लिन बाध्य छन्, जसले गर्दा मिटरब्याज पीडितको सङ्ख्या र ऋणको पासो अनि विविध कारणले आत्महत्याको दर बढेको छ,” धमलाले थपे, “सरकार र बैंकहरूले गरिब र निमुखा जनताका लागि ऋण नीतिमा तत्काल सुधार गर्नुपर्छ।”
राणा शासन, २०४६ र २०६२–०६३ सालको परिवर्तन जनताकै बलमा सम्भव भएको स्मरण गराउँदै धमलाले अबका जनता सचेत र बुद्धिमत्तापूर्ण निर्णय गर्न सक्षम रहेको दाबी गरे। राजनीतिक स्थायित्व, रोजगारी सिर्जना र भ्रष्टाचारको अन्त्य नै अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ थियो।
प्रतिपक्ष दलहरूले जनताका वास्तविक एजेन्डा र भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव सदनमा ल्याउन नसकेको आरोप लगाउँदै धमलाले अब ‘स्वतन्त्र नागरिक अभियान’ले सडकमै उत्रिएर सुशासन र विकासको नारा बुलन्द गर्ने चेतावनी दिए। उनले संविधान संशोधन र मुलुकको समृद्धिका लागि सर्वपक्षीय सहमति र सबै शक्तिको अपनत्व आवश्यक रहेकोमा जोड दिए।




प्रतिक्रिया