सुकुना मावि प्रकरण: सामाजिक सञ्जालको आरोपपछि शिक्षक निलम्बन, निष्पक्ष छानबिन गर्न विद्यालयको अपिल


मोरङ । सुन्दरहरैँचा-१० स्थित सुकुना माध्यमिक विद्यालयले सामाजिक सञ्जालमा आएका शिक्षक-कर्मचारीसम्बन्धी विभिन्न आरोपहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कारबाही र निष्पक्ष छानबिनका लागि प्रतिबद्धता व्यक्त गरेको छ। विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति र शिक्षक-अभिभावक संघले संयुक्त विज्ञप्ति जारी गर्दै आरोपित शिक्षक तथा कर्मचारीहरूलाई तत्कालका लागि निलम्बन गरिएको जानकारी दिएका छन्।

साउन २ गतेदेखि ‘S/K/N Confession & Meme’ नामक फेसबुक समूहबाट विद्यालयका गतिविधि र शिक्षक-कर्मचारीहरूसँग जोडिएका विभिन्न विषयहरू बाहिरिएपछि परिस्थिति तरंगित बनेको थियो। सामाजिक सञ्जालमार्फत कमी-कमजोरी औंल्याएर शुद्धीकरणमा सहयोग पुर्याएको भन्दै विद्यालयले उक्त समूहलाई धन्यवादसमेत ज्ञापन गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “यस मामिलाको निष्पक्ष छानबिन गरी पीडितहरूले अवश्य नै न्याय पाउनुपर्छ र दोषी ठहरिएका शिक्षक-कर्मचारीहरूले हदैसम्मको सजाय पाउनुपर्छ। सम्बन्धित निकायहरूबाट छानबिनको प्रक्रिया सुरु भइसकेकाले विद्यालय परिवार निष्कर्षको पर्खाइमा छ।”

निष्पक्ष छानबिनमा सहयोग गरिरहेको स्पष्ट पार्दै विद्यालयले छानबिन चलिरहेका बेला प्रमाण र तथ्यविना निर्दोष शिक्षक-कर्मचारीहरूमाथि मनोबल गिराउने किसिमका आरोप-प्रत्यारोप नगर्न आग्रह गरेको छ। हो-हल्ला र प्रचारबाजीका आधारमा वर्षौंदेखिको संस्थागत साखमा आँच पुग्ने गतिविधि निरन्तर दोहोरिएको भन्दै विद्यालय परिवारले दुःख व्यक्त गरेको छ। छानबिन प्रक्रियालाई प्रभावित पार्ने खालका गतिविधि नगर्न अपिल गर्दै विद्यालयले कुनै पनि सुझाव वा गुनासो भए सुरक्षित रूपमा आधिकारिक निकायमा दर्ता गराउन अनुरोध गरेको छ।

विद्यालयले उत्पन्न समस्या र अन्य सरोकारका विषयमा सुरक्षित रूपमा गुनासो दर्ता गर्न पाँच सदस्यीय गुनासो सुनुवाइ समिति गठन गरेको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघका पदाधिकारी र वडा प्रतिनिधि सम्मिलित उक्त समिति वा सिधै विद्यालय प्रशासन, नगरपालिका शिक्षा शाखा एवम् स्थानीय प्रहरीसमक्ष सम्पर्क गर्न सकिने जनाइएको छ।

विज्ञप्तिमा अभिभावक, समाजसेवी र जनप्रतिनिधिहरूलाई धैर्यधारण गर्न आग्रह गरिएको छ। साथै, विद्यालय पुनः सञ्चालन भएपछि विद्यार्थीहरूलाई निर्धक्कसँग पठनपाठनमा पठाउने वातावरण बनाइदिन समेत अपिल गरिएको छ।

२००९ सालमा स्थापित पूर्वकै प्रतिष्ठित मानिने सुकुना माविमा हाल ५ हजार २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने १७८ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन्।