काठमाडौँ । धनगढीस्थित कृष्ण मन्दिर व्यवस्थापन समितिले आफ्नो धर्मशालामा सत्याग्रहरत प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न आग्रह गरेको छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई औपचारिक पत्र हस्तान्तरण गर्दै धर्मशाला छाड्न अनुरोध गरेका हुन्। समितिले पूर्वजानकारी नदिई अनसन सुरु गरेको कारण देखाउँदै उक्त स्थान छाड्न भनेको जनाएको छ।
अध्यक्ष पन्तका अनुसार डा. केसी सुरुमा सामान्य बास बस्ने प्रयोजनका लागि आएका थिए। धार्मिक स्थलभित्र अनसन बस्न दिएको विषयमा चौतर्फी दबाब आउन थालेपछि यस्तो कदम चालिएको उनले बताए।
“उहाँ बास बस्छु भनेर आउनुभएको थियो, तर कुनै जानकारी बिना अनसन नै बस्नुभयो। धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाब आउन थाल्यो, त्यसैले उहाँलाई धर्मशाला छाड्नुहोस् भनेका हौँ।” – मुक्तिनाथ पन्त, अध्यक्ष, कृष्ण मन्दिर व्यवस्थापन समिति
यद्यपि, उक्त दबाब कुन पक्षबाट आएको हो भन्नेबारे समितिले स्पष्ट पारेको छैन। स्रोतका अनुसार यसअघि अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले धर्मशालामा डा. केसीलाई अनसन बस्न नदिन व्यवस्थापन समितिलाई आग्रह गरेका थिए।
प्रशासन र व्यवस्थापन समितिले धर्मशाला छाड्न पत्र दिएपछि डा. केसी र उहाँको टोलीले अनसन जारी राख्न वैकल्पिक स्थानबारे छलफल सुरु गरेको छ।
डा. केसीका सहयोगी डा. अमृत जैसीले भने समितिको दाबीको खण्डन गर्दै डा. केसी पूर्वजानकारी दिएर नै धर्मशालामा अनसन बसेको बताएका छन्। चिकित्सा शिक्षा सुधारका विभिन्न पाँचबुँदे माग राख्दै डा. केसी सत्याग्रहमा छन् ।




प्रतिक्रिया