बोर्दो, १० साउन। दक्षिण–पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका कारण घर छाड्न बाध्य हुनेको सङ्ख्या दुई लाख ५० हजारभन्दा बढी पुगेको छ । आगो वाइन उत्पादनका लागि प्रसिद्ध सहर बोर्दोनजिक पुग्दै गएको अधिकारीले बताएका छन् ।
बोर्दोस्थित गिरोन्ड क्षेत्रका अधिकारीले सहरको दक्षिण–पश्चिममा रहेका थप पाँच बस्तीका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सर्न आदेश दिएका छन् ।
गिरोन्ड प्रशासनका अनुसार रातभर चलेको तीव्र हावाले डढेलो थप फैलिन सहयोग गरेको छ । साताको मध्यदेखि नियन्त्रणबाहिर रहेको आगोका कारण आइतबार बिहानसम्म करिब ४२ हजार हेक्टर क्षेत्रमा क्षति पुगेको अनुमान गरिएको छ । उक्त क्षेत्रफल म्यानहटन टापुभन्दा करिब सात गुणा र पेरिस सहरभन्दा चार गुणा ठूलो हो ।
यस वर्ष लगातारको तातो हावाको लहरका कारण सुक्खा बनेका पाइनका जङ्गल र झाडी क्षेत्र डढेलोको उच्च जोखिममा परेका छन् ।
दमकलकर्मीले जमिन र आकाशबाट बोर्दोतर्फ बढिरहेको आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । अग्निनियन्त्रण विमानबाट पानी र आगो फैलिन नदिने रसायन छर्किने काम भइरहेको छ । चौबीसै घण्टा खटिएका दमकलकर्मीलाई सहयोग गर्न सेनासमेत परिचालन गरिएको छ ।
बोर्दोका मेयर थोमस काजेनाभले आगो महानगरीय क्षेत्रको ढोकैमा आइपुगेको बताएको छ । आगो सहरको सबैभन्दा नजिकको बिन्दुबाट करिब १५ किलोमिटरको दूरीसम्म पुगेको उनले जानकारी दिएको छ ।
गिरोन्डका अधिकारीले बोर्दो प्रवेश गर्ने र बाहिरिने मुख्य राजमार्गको केही भागसमेत बन्द गर्न आदेश दिएका छन् ।
यसैबीच, छिमेकी स्पेनमा पनि पूर्वी तटीय भ्यालेन्सिया क्षेत्रमा लागेको डढेलोका कारण मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यसै साता भ्यालेन्सिया र म्याड्रिडको पश्चिमी क्षेत्रमा फैलिएका अनियन्त्रित डढेलोका कारण करिब एक लाख १६ हजार मानिस घर छाड्न बाध्य भएका छन् ।
फ्रान्सको दक्षिणतर्फ रहेको ल्यान्डेस क्षेत्रमा लागेको अर्को डढेलोका कारण यस साता करिब ३० हजार मानिस विस्थापित भएका छन् । यससँगै दक्षिण–पश्चिम फ्रान्समा डढेलोका कारण घर छाड्न बाध्य हुनेको कुल सङ्ख्या दुई लाख ५० हजारभन्दा बढी पुगेको छ । रासस




प्रतिक्रिया