सियोल, ११ साउन । कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने आग्रह गरेपछि उत्तर कोरियाले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को कडा आलोचना गरेको छ । उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी तथा प्रभावशाली अधिकारी किम यो जोङले आसियानको धारणा ‘मूर्खतापूर्ण’ र ‘वास्तविकताविहीन’ भएको टिप्पणी गरेका छन् ।
गत साता सम्पन्न आसियान क्षेत्रीय फोरमले उत्तर कोरियाको निरन्तर आणविक हतियार विकासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने उद्देश्यसहित संवादलाई अघि बढाउनुपर्नेमा जोड दिएको थियो ।
सरकारी समाचार संस्था केसीएनएमार्फत जारी वक्तव्यमा किम यो जोङले उत्तर कोरियाको संविधानले देशलाई आणविक शक्ति राष्ट्रका रूपमा स्पष्ट मान्यता दिएको अवस्थामा पनि त्यसलाई बेवास्ता गर्दै ‘आणविक निशस्त्रीकरण’ को माग गर्नु रणनीतिक सोचको अभाव भएको बताए । उनले कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरणको अवधारणा अब व्यावहारिक र राजनीतिक रूपमा अर्थहीन भइसकेको दाबी गरे ।
उनले आसियानलाई अमेरिकाको ‘मुखपत्र’ जस्तो भूमिका निर्वाह नगर्न पनि आग्रह गरे । साथै उत्तर कोरियाको आणविक नीति कुनै पनि परिस्थितिमा परिवर्तन नहुने भन्दै त्यसलाई राष्ट्रिय सुरक्षाको अपरिवर्तनीय आधारका रूपमा प्रस्तुत गरे ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रतिबन्धका बाबजुद उत्तर कोरियाले लामो समयदेखि आफ्नो आणविक हतियार तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । सन् २०२३ मा प्योङयाङले संविधान संशोधन गर्दै आफूलाई औपचारिक रूपमा आणविक शक्ति राष्ट्रका रूपमा समावेश गरेको थियो ।
सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ–उनबीच भएको शिखर वार्ता निशस्त्रीकरण र प्रतिबन्ध हटाउने विषयमा सहमति जुट्न नसकेपछि विफल भएको थियो । त्यसयता उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय आणविक शक्ति’ भएको अडान दोहोर्याउँदै आएको छ । रासस




प्रतिक्रिया