जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ


हासेलफेल्डे, ११ साउन । जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो परम्परागत विधिबाट काठको कोइला बनाउँदै त्यसलाई जीवित राखेका छन् ।

इमो फेल्डमरले धिपधिप बलिरहेको कोइलालाई माटोले बनाइएको अग्लो ढिस्कोभित्र राख्दै कोइला उत्पादनको प्रक्रिया सुरु गरे । ढिस्कोभित्र ‘बिच’ जातको काठलाई खाँदेर राखिन्छ, जुन हप्तौँसम्म बिस्तारै बल्दै अन्ततः कोइलामा परिणत हुन्छ ।

पूर्वी जर्मनीको हार्ज क्षेत्रमा यो परम्परा सयौँ वर्षदेखि चल्दै आएको छ । “हामी परम्परागत माटोको भट्टीमा कोइला बनाउँदैछौँ, ठीक त्यसरी नै जसरी एक हजार वर्षअघि हार्ज पहाडमा गरिन्थ्यो,” फेल्डमरले हालै एसोसिएटेड प्रेस (एपी) लाई बताए ।

फेल्डमर र उनका भाइ साशाले आफ्ना बुबाबाट ‘हार्जकोलेरेई स्टेमबर्गहाउस’ नामक कोइला उत्पादन व्यवसाय सम्हालेका हुन् । ढिस्कोभित्र बलिरहेको काठको दिनरात निगरानी गर्नुपर्ने भएकाले उनीहरूले केही कामदारसमेत राखेका छन् । उचित निगरानी नभए काठ पूर्ण रूपमा जलेर कोइलाको सट्टा खरानीमा परिणत हुन सक्छ ।

माटोले ढाकेपछि ‘बिच’ काठमा रहेका हावा छिर्ने स–साना प्वालमार्फत माथिदेखि तलसम्म बिस्तारै दहन हुन्छ । दहन पूरा भएपछि कोइलाबाट माटो हटाइन्छ र चिसिएपछि बिक्रीका लागि १० किलोग्रामका बोरामा प्याक गरिन्छ ।

हार्ज क्षेत्रमा खनिज उत्खननका लागि काठको कोइला कुनै समय अत्यावश्यक थियो । चाँदी, सिसा, तामा र जस्ता धातु निकाल्न खनिजलाई उच्च तापक्रममा भट्टीमा पगाल्नुपथ्र्यो, जसका लागि कोइलाबाट प्राप्त हुने उच्च ताप आवश्यक हुन्थ्यो ।

शताब्दीयौँसम्म हार्ज क्षेत्रका सयौँ परिवारले कोइला बनाउने कामबाट जीविकोपार्जन गरे । अहिले भने उक्त क्षेत्रमा खनिज उत्खनन हुँदैन र जर्मनीमा परम्परागत विधिबाट कोइला बनाउने व्यवसायी पनि निकै कम छन् ।

फेल्डमर दाजुभाइले उत्पादन गर्ने कोइला मुख्यतः घरमा बार्बेक्युका लागि प्रयोग गर्ने ग्राहकलाई बिक्री गर्छन् । उनीहरूले वार्षिक करिब ४० टन कोइला उत्पादन गर्छन् ।

फेल्डमरका अनुसार उनीहरूको कोइला शुद्ध बिच काठबाट बनाइन्छ । जर्मनीका हार्डवेयर पसलमा बिक्री हुने अधिकांश कोइला भने आयातित हुने र विभिन्न प्रकारका काठ तथा अन्य सामग्री प्रयोग गरेर उत्पादन गरिने उनको दाबी छ ।

वार्षिक उत्पादनबाट मात्र व्यवसाय सञ्चालन गर्न कठिन हुने भएकाले दाजुभाइले कोइला उत्पादनको इतिहास झल्काउने सङ्ग्रहालय, सानो पसल र रेस्टुरेन्टसमेत सञ्चालन गरेका छन् । रेस्टुरेन्टमा स्थानीय परिकारका साथै आफ्नै उत्पादनको बर्च कोइलामा ग्रिल गरिएको स्टेकलगायतका खाना पाइन्छ ।

जर्मनीमा परम्परागत कोइला उत्पादनको कला लोप हुने अवस्थामा पुगे पनि फेल्डमरले आफ्नो परिवारले यसलाई आगामी पुस्तासम्म निरन्तरता दिने आशा व्यक्त गरेका छन् ।

“हामी आशा गर्छौँ कि हाम्रा बच्चाले पनि यो व्यवसाय सम्हाल्नेछन्, यसको सञ्चालन जारी रहनेछ र यहाँको परम्परागत कोइला बनाउने शिल्प सुरक्षित रहनेछ,” उनले भने । रासस