विराटनगर । सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र त्यसपछि उत्पन्न असामान्य परिस्थितिलाई दृष्टिगत गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय बैठक आह्वान गरेका छन्।
प्रदेश प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार स्थिति नियन्त्रणमा लिन र आपसी सामाजिक सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीले सर्वदलीय तथा सर्वपक्षीय बैठक डाकेका हुन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजना गरिएको उक्त बैठकमा कोशी प्रदेशका उच्च सुरक्षा अधिकारी, सुनसरी क्षेत्रका प्रदेश सांसदहरू तथा प्रमुख राजनीतिक दलका प्रदेशस्तरीय नेताहरूको सहभागिता रहनेछ। बैठकमा प्रदेशभित्र शान्ति-सुरक्षाको अवस्था सुदृढ बनाउने, सामाजिक सद्भाव जोगाउने र घटनापछिको स्थिति सामान्य बनाउन प्रदेश सरकारको उपस्थितिलाई थप प्रभावकारी बनाउने विषयमा गहन छलफल हुने जनाइएको छ।
यसअघि मुख्यमन्त्री कार्कीले एक भिडियो सन्देश जारी गर्दै सम्पूर्ण प्रदेशवासीलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न विशेष अपिल गरिसकेका छन्। उनले शान्ति-सुरक्षाको स्थिति थप बिग्रन नदिन सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर समन्वय गरिरहेका छन्। यस्तै, प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको टोलीले अस्पताल पुगेर घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा सहजीकरण गरिरहेको छ।




प्रतिक्रिया