कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी


चितवन, १५ साउन । यहाँको कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ । जिल्लामा रहेका सात पालिकामध्ये पहिलो पटक यस पालिकाले भूमि व्यवस्थापन सेवा सुरु गरेको हो ।

नगरप्रमुख विनोद रेग्मीका अनुसार नगरपालिकाले नापनक्सा, जग्गा प्रशासन तथा विभिन्न लिखत पारितसम्बन्धी सेवा औपचारिक रुपमा थालनी गरेको हो । नेपालको संविधानले भूमि प्रशासनसम्बन्धी अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरे पनि आवश्यक पूर्वाधार र जनशक्ति अभावका कारण हालसम्म यी सेवा सङ्घीय सरकारअन्तर्गतका भूमिसुधार, मालपोत तथा नापी कार्यालयमार्फत प्रवाह हुँदै आएको थियो । आवश्यक तयारी पूरा गरेपछि कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट सेवा सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

नगरपालिकाबाट सेवा सुरू भएसँगै कालिकाका ११ वटै वडाका नागरिकले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीयस्तरमै पाउने भएका छन् । यसअघि त्यस नगरपालिकाका बासिन्दाले भरतपुरमा रहेको मालपोत र नापी कार्यालयबाट सेवा लिँदै आएका थिए । शाखा स्थापनासँगै सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै स्थानीयस्तरमै छिटो, सहज र प्रभावकारी सेवा प्रवाह हुने उनले बताए ।

हालका लागि जग्गाको स्रेस्ता कायम गर्ने सेवा भने भरतपुरबाट हुनेछ । अन्य अधिकांश भूमि प्रशासनसम्बन्धी सेवा नगरपालिकाबाटै प्रदान गरिनेछ ।

भूमि प्रशासन अधिकृत रामप्रसाद अधिकारीले जग्गा धनी दर्ता प्रमाणपुर्जा, लिखत पारित, मृत्यु पछिको नामसारी, राजिनामा दस्तखत पारित, छोडपत्र लिखद पारित, बकसपत्र पारित तथा शेषपछिको लिखतबापतलगायत काम त्यही हुनेछ । जिल्लामा भरतपुरसँगै चनौली, माडी र खैरहनीमा मालपोत र नापी कार्यालयले सेवा दिँदै आएका छन् ।