सिरहा । सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १५ वर्षीय बालक गणेश यादवका आफन्त र स्थानीयले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध विरोध प्रदर्शन गरेका छन्।
गोलबजार झडपमा ज्यान गुमाएका औरही गाउँपालिका-२ तुलसियाहीका बालक यादवको पीडित परिवारलाई भेट्न गृहमन्त्री गुरुङ आउन लागेको खबर पाएलगत्तै आक्रोशित स्थानीयले सिरहाको बनिनिया चोकमा जम्मा भएर प्रदर्शन थालेका हुन्।
हातमा विरोधका प्लेकार्ड र नारासहित सडकमा उत्रिएका प्रदर्शनकारीहरूले बालेन सरकार र गृहमन्त्रीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। उनीहरूले मृतक बालकले उचित न्याय नपाएसम्म र घटनाका दोषीमाथि कारबाही नभएसम्म गृहमन्त्रीलाई गाउँ प्रवेशमा पूर्ण रोक लगाइने चेतावनी दिएका छन्।
निर्दोष १५ वर्षीय बालकमाथि गोली प्रहार गरी हत्या गरिएको भन्दै स्थानीयवासी र आफन्तहरू यतिवेला निकै आक्रोशित बनेका छन्। घटनापछि त्यस क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ।




प्रतिक्रिया