काठमाडौँ । मधेशमा सल्कन खोजेको साम्प्रदायिक तनाव र सम्भावित हिंसाको जोखिमलाई समयमै पहिचान गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देखाएको अग्रसरता र परिपक्वता पक्कै पनि स्वागतयोग्य छ।
हुन त राजनीतिमा संकटका बेला शीर्ष नेतृत्वको भूमिका जति परिपक्व र जिम्मेवार हुन्छ, त्यसैले नै देशको लोकतान्त्रिक साख र सामाजिक सद्भावको दिशा निर्धारण गर्छ।
संसद्को सबैभन्दा ठूलो दलका नेताका रूपमा सरकारको औपचारिक कदमको प्रतीक्षा नगरी सर्वदलीय छलफल, राष्ट्रपतिसँगको परामर्श, धार्मिक अगुवाहरूको संयुक्त पहल र आफ्नै पार्टीभित्र संयन्त्र परिचालन गर्ने रविको कार्यशैलीले उनी केवल चुनावी राजनीतिमा मात्र होइन, ‘स्टेट्सम्यानसिप’ (राष्ट्रनायकत्व) तर्फ उन्मुख हुँदैछन् भन्ने स्पष्ट संकेत गर्छ।
रास्वपा आवेश र उत्तेजनात्मक भाषणबाट स्थापित भएको आरोप खेप्दै आएका रविले पछिल्लो समय देखाएको धैर्य, संयम र हिन्दु-मुस्लिम धर्मगुरुहरूलाई एकै ठाउँ राखेर सद्भावको सन्देश दिने पहलकदमी नयाँ पुस्ताका राजनीतिज्ञहरूका लागि अनुकरणीय छ।

यद्यपि, यस्ता सामयिक पहलहरू क्षणिक ‘स्टन्ट’ वा तात्कालिक संकट टार्ने माध्यम मात्र बन्नु हुँदैन। मधेशको सामाजिक-राजनीतिक जटिलता र साम्प्रदायिक संवेदनशीलतालाई दीर्घकालीन रूपमा हल गर्न नीतिगत स्पष्टता, राज्यका संयन्त्रहरूको निष्पक्ष परिचालन र कानुनी शासनको प्रत्याभूति अपरिहार्य छ। आशा गरौँ, उनको यो राजनीतिक परिपक्वता निरन्तर कायम रहनेछ र देशमा सामाजिक सद्भाव र शान्ति स्थापना गर्न बलियो जग बन्नेछ।




प्रतिक्रिया