इमानदार प्रयास, अडिग अभियानः मधेशभर सद्भावको दियो बाल्दै ऋषि धमला


वीरगञ्ज। जहाँ संकट, तनाव र अशान्तिको त्रास छाउँछ, त्यहाँ समाधानको सन्देश बोकेर अघि सर्ने परिचित नाम हो– ऋषि धमला। स्वतन्त्र नागरिक अभियानका अध्यक्ष धमला अहिले भारतीय सीमावर्ती पूर्वी तराई–मधेशका जिल्लाहरूमा शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको नयाँ लहर सिर्जना गर्न निरन्तर क्रियाशील बनेका छन्।

धमला नेतृत्वको स्वतन्त्र नागरिक अभियानले मधेशका आठै जिल्लासहित मोरङ र सुनसरीसम्मको सघन देश दौडाहा तीव्र पारेपछि त्यस क्षेत्रको समग्र शान्ति सुरक्षा र व्यावसायिक वातावरणमा सकारात्मक परिवर्तन आउन थालेको स्थानीयको विश्लेषण छ।

व्यापारी र प्रशासनसँग प्रत्यक्ष संवादः बारा र पर्सामा फर्कियो विश्वास
अभियानकै क्रममा बारा र पर्सा पुगेका धमलाले त्यहाँका प्रमुख उद्योगी, व्यापारी तथा स्थानीय प्रशासनसँग छुट्टाछुट्टै र सामूहिक भेटघाट गरेका छन्। बाराका उद्योगी व्यवसायीहरूसँगको विशेष अन्तर्क्रियामा उनले शान्ति सुरक्षाको वातावरण खलबलिएर उद्योग व्यवसाय ठप्प हुने स्थिति कुनै पनि हालतमा आउन दिन नहुनेमा जोड दिए।

‘हिंसा र अशान्ति नेपाली समाजले कहिल्यै स्वीकार्दैन। हामीलाई चाहिएको शान्ति, विकास र अमनचैन हो,’ उद्योगपतिहरूसँगको छलफलमा धमलाले भने, ‘धार्मिक सहिष्णुता, आपसी एकता र एकले अर्काको अस्तित्व स्वीकार गर्नु नै आजको मुख्य आवश्यकता हो।’

सोही क्रममा धमलाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग पनि सुरक्षा व्यवस्था सुदृढ बनाउने विषयमा गहन छलफल गरे। धमलाको यस सक्रिय उपस्थितिपछि बारा र पर्साका औद्योगिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति बढेको र काम गर्ने सहज वातावरण बनेको व्यापारीहरू बताउँछन्।

सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश
अभियानका क्रममा अध्यक्ष धमलाले साम्प्रदायिक सद्भाव र मेलमिलाप नै समृद्धिको आधार भएको बताए। सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिँदै धमलाले आन्दोलन वा अशान्तिका क्रममा ज्यान गुमाएका निर्दोषहरूलाई शहीद घोषणा गरी पीडित परिवारलाई उचित न्याय र राहत दिनुपर्ने मागसमेत अघि सारेका छन्।

मधेशका गाउँ–गाउँ र शहरसम्म पुगेर नागरिक, व्यवसायी र सुरक्षा निकायबीच पुलको काम गरिरहेका धमलाको यो अभियानले मधेशमा उब्जिएका संशय र डरत्रासहरू मेटिँदै गएको सर्वसाधारणको भनाइ छ । जनतालाई शान्ति सुरक्षाको अनुभूति गराउन र भाइचारा अभिवृद्धि गर्न अध्यक्ष धमलाको यो देश दौडाहा निर्णायक साबित भइरहेको छ।