राष्ट्रियसभाः शोक प्रस्ताव पारित


काठमाडौँ, १५ साउन । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

संविधानसभा सदस्य श्रेष्ठप्रति शोक प्रकट गर्दै सभाले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । बैठकमा सदस्यहरूले एक मिनेट मौन धारणा पनि गरे । स्वर्गीय श्रेष्ठको ८९ वर्षको उमेरमा यही साउन १२ गते निधन भएको हो ।

स्वर्गीय श्रेष्ठ नेपाली कांग्रेसका तर्फबाट २०४८ सालको निर्वाचनमा स्याङजा जिल्लाको आमनिर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ बाट, २०५६ सालको आमनिर्वाचन र २०६४ को संविधानसभा सदस्यमा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएको थियो । साथै २०७० सालमा उनी संविधानसभा सदस्य भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन १८ गते सोमबार अपराह्न १ः१५ बजे बस्नेछ ।