कांग्रेस जोड्न मैदानमा उत्रिए कर्ण र महर: ‘राष्ट्रिय एकता भेला’ मार्फत पार्टी विभाजन रोक्न अन्तिम धक्का !


काठमाडौँ । नेपाली राजनीति र नेपाली कांग्रेसको इतिहास फेरि एकपटक निर्णायक मोडमा पुगेको छ। एकातिर पार्टी विभाजनले औपचारिक रूप लिन थालेपछि आम कार्यकर्तामा निराशा छाएको छ भने अर्कोतिर पार्टीलाई फुटबाट जोगाउन र लोकतन्त्रलाई सुदृढ बनाउन युवा नेताहरूले ऐतिहासिक पहलकदमी थालेका छन्।

कांग्रेसभित्र चुलिँदै गएको गुटगत द्वन्द्व र विभाजनको कालो बादललाई चिर्दै ‘देश र कांग्रेस जोड्ने अभियान’ले ऐतिहासिक ‘राष्ट्रिय एकता भेला’को घोषणा गरेको छ। आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानले पार्टी एकतालाई पुनः स्थापित गर्ने र कांग्रेसलाई पुनर्जीवन दिने उद्घोष गरेको हो।

पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा अभियानको मूल ध्येय प्रस्ट पारिएको छ। यो भेला कुनै व्यक्ति, प्यानल या गुटको स्वार्थपूर्तिको लागि नभई सिंगो पार्टी र देशको भविष्य रक्षाका लागि आयोजना गर्न लागिएको अभियानले स्पष्ट पारेको छ।

अभियानका नेताहरूका अनुसार आगामी राष्ट्रिय एकता भेलाले मूलतः तीनवटा मुख्य लक्ष्य हासिल गर्नेछ:

१. पार्टी एकतालाई संस्थागत बनाउने: गुटबन्दी र विभाजनको तिक्तता समाप्त पारी पार्टीलाई एकढिक्का बनाउन ठोस खाका तयार पार्ने।

२. जनतासँगको सम्बन्ध पुनर्जीवित गर्ने: कांग्रेस र आम सर्वसाधारण, युवा तथा कार्यकर्ताबीच टुटेको विश्वासको कडीलाई पुनः जोड्ने।

३. भावी कार्ययोजना सार्वजनिक गर्ने: भेलामार्फत देशव्यापी रूपमा सञ्चालन गरिने संगठन सुदृढीकरण र एकता अभियानको स्पष्ट रोडम्याप घोषणा गर्ने।

पार्टी विभाजनको औपचारिक प्रक्रिया तीव्र बनिरहेका बेला यसलाई रोक्न र शीर्ष नेतृत्वलाई दबाब दिन कांग्रेसका प्रभावशाली युवा नेताहरू रञ्जित कर्ण, नैनसिंह महर, सुवन गिरी लगायतको समूहले अग्रसरता लिएको छ।

विद्यार्थी राजनीतिबाट स्थापित भएका र कार्यकर्तामाझ बलियो पकड भएका यी युवा नेताहरूको समूहले कांग्रेस जोड्ने महाअभियानको नेतृत्व गरिरहेको छ। उनीहरूले शीर्ष तहमा देखिएको असमझदारी र विभाजनकारी अडानलाई निस्तेज पार्न देशभरका इमानदार कार्यकर्तालाई एकजुट हुन आह्वान गरेका छन्।

अर्कोतर्फ, कांग्रेसभित्रको शक्ति संघर्ष थप पेचिलो बन्दै गएको संकेत शनिबारको घटनाक्रमले दिएको छ। नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी २९ साउनमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ।

उक्त भेलालाई व्यवस्थित र भव्य बनाउन पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा मूल आयोजक समितिसमेत गठन गरिएको छ। इतर समूहले २९ साउनको भेलामार्फत आफ्ना रणनीतिहरू तय गर्ने तयारी गरिरहँदा, कर्ण र महर नेतृत्वको ‘देश र कांग्रेस जोड्ने अभियान’ भने दुवै पक्षलाई मिलाएर फुट रोक्ने अन्तिम कोसिसमा जुटेको छ।