निर्मल पुर्जाको निधनमा आज शोक बिदा


काठमाडौं, साउन १८ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधनको शोकमा आज म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा शोक बिदा दिइएको छ। अन्नपूर्ण गाउँपालिका- ३ दाना पुर्जाको जन्मस्थल हो।

गाउँपालिका अध्यक्ष भारतकुमार पुनले सूचना जारी गर्दै पुर्जासहितका पाकिस्तानको हिमपहिरोमा परेर निधन भएका पर्वतारोहीप्रति सम्मान प्रकट गर्न सोमबार गाउँपालिकामा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कार्यालय र विद्यालय बन्द रहने जानकारी दिएका हुन्।

पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा पुर्जासहितको १० सदस्यीय पर्वतारोहीको हिमपहिरोमा परी निधन भएको थियो।