काठमाडौं, साउन १८ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री निशा मेहताले अनशनरत नर्स ज्योति रानाभाटको सत्याग्रहप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफैँ स्वास्थ्यकर्मी भएको नाताले पाँच दिनदेखि अनशनरत रानाभाटको माग र स्वास्थ्य अवस्थाप्रति संवेदनशील रहेको बताएकी छन् ।
समस्याको समाधान संवादबाट नै सम्भव हुन्छ भन्ने विश्वासका साथ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सुरुदेखि नै वार्ता समिति, अतिरिक्त सचिव, सचिव तथा सम्बन्धित निकायमार्फत पटक–पटक संवाद र समन्वयको प्रयास गरेको उनले जानकारी दिएकी छन् । साथै यस विषयमा स्वास्थ्य तथा शिक्षा सम्बन्धी संसदीय समितिका सभापति समेत वार्ताका लागि निरन्तर प्रयासरत रहेको उनको भनाइ छ।
‘हाल म गत साता सुनसरीमा भएको दुखद घटनापछि त्यही घटनाको व्यवस्थापन, पीडित परिवारसँगको समन्वय तथा स्थानीय अवस्था सामान्य बनाउन आवश्यक पहलका लागि सुनसरीमै छु। यहाँको अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन, त्यसैले मेरो उपस्थिति यहाँ आवश्यक रहेको छ ।’ उनले सामाजपक सञ्जालमा लेखेकी छन्।
तथापि, यस विषयलाई आफूले निरन्तर प्राथमिकतामा राखेको र आज पनि सम्बन्धित पक्षहरूसँग पुनः वार्ता गर्ने तयारीमा रहेको बताउँदै मेहताले सकारात्मक निष्कर्षमा पुग्न सबै पक्षले सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् ।




प्रतिक्रिया