काठमाडौँ । नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि पुनः आन्दोलनमा उत्रिने निर्णय गरेको छ। महासंघको हालै सम्पन्न परिषद् बैठकले आफ्ना बाँकी मागहरू पूरा गराउन सरकारमाथि दबाब बढाउने उद्देश्यका साथ आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको हो।
महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार परिषद् बैठकले आन्दोलनमा जाने सैद्धान्तिक निर्णय गरिसकेको छ भने आन्दोलनको ठोस मिति र स्वरूप भने शीघ्र बस्ने विस्तारित कार्यालय बैठकले तय गर्नेछ।
महासंघले लामो समयदेखि थन्किएर बसेको नयाँ शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने आफ्नो मुख्य मागलाई पुनः जोडदार रूपमा उठाएको छ। यसका साथै, सरकारले हालै ल्याएको शिक्षा नियमावलीको १०औँ संशोधनमा रहेका केही प्रावधानहरूप्रति समेत महासंघले गम्भीर असहमति जनाएको छ।
शिक्षक महासंघले विशेषगरी:
- शिक्षक सरुवाको विभेदकारी व्यवस्था रद्द हुनुपर्ने,
- विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास (इसीडी) शिक्षकहरूको सेवा-सुविधा र दरबन्दीको उचित व्यवस्थापन हुनुपर्ने, तथा
- अस्थायी प्रकृतिका शिक्षकहरू (राहत, करार, साविक उच्च मावि आदि) को स्थायी व्यवस्थापन र न्यायोचित समायोजन हुनुपर्ने,
जस्ता मागहरू सरकारसमक्ष राख्दै आएको छ। पटक-पटक भएका सहमति र सम्झौताहरू कार्यान्वयन गर्न सरकारले आलटाल गरेपछि बाध्य भएर पुनः सडक आन्दोलनको बाटो रोज्नुपरेको महासंघका पदाधिकारीहरूको भनाइ छ।




प्रतिक्रिया