टोकियो, १८ साउन । जापान र संयुक्त राज्य अमेरिकाले येनको विनिमय दरलाई स्थिर बनाउन संयुक्त रूपमा विदेशी विनिमय बजारमा हस्तक्षेप गरेको पुष्टि गरेका छन् ।
सन् १९९८ यता येन खरिदका लागि दुवै देशले संयुक्त रूपमा गरेको यो पहिलो हस्तक्षेप हो भने सन् २०११ पछि समन्वयात्मक रूपमा गरिएको पहिलो मुद्रा हस्तक्षेप हो ।
जापान र अमेरिकाबीचको ब्याजदरको ठूलो अन्तर तथा जापानको बढ्दो सार्वजनिक ऋणसम्बन्धी चिन्ताका कारण येन हालै चार दशकयताकै कमजोर अवस्थामा पुगेको थियो । गत महिना अमेरिकी डलरको तुलनामा येन १६३ दशमलव ९९ मा झरेपछि दुवै देशले बजारमा हस्तक्षेप गरेका हुन् ।
शुक्रबार गरिएको संयुक्त हस्तक्षेपको आकार सार्वजनिक गरिएको छैन । यसअघि सन् २०११ मा जापानमा आएको विनाशकारी भूकम्पपछि जी–७ राष्ट्रहरूले संयुक्त रूपमा येन बिक्री गरेर यसको अत्यधिक मूल्यवृद्धि रोक्ने प्रयास गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ‘एयर फोर्स वान’मा सञ्चारकर्मीसँग कुरा गर्दै संयुक्त हस्तक्षेपको पुष्टि गरे । उनले यसलाई जापानसँगको मित्रताको प्रतीक तथा विश्व अर्थतन्त्रका लागि सकारात्मक कदम भएको बताए ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आवश्यक परे भविष्यमा पनि जापानसँग संयुक्त हस्तक्षेप गर्न अमेरिका तयार रहेको बताए । उनका अनुसार अमेरिकी प्रशासनले येनको अत्यधिक अवमूल्यन रोक्न जापानले अपनाएको मौद्रिक तथा बजार नीतिलाई समर्थन गरेको छ ।
जापानी अर्थमन्त्री सात्सुकी कातायामाले संयुक्त हस्तक्षेपले हालका महिनाहरूमा देखिएको येनको अत्यधिक उतारचढाव नियन्त्रण गर्न सहयोग पुगेको बताए । उनका अनुसार सन् १९९८ पछि जापान र अमेरिकाले समन्वयात्मक रूपमा येन खरिद गरेको यो पहिलो अवसर हो ।
हस्तक्षेपपछि शुक्रबार येनको मूल्य प्रतिडलर १५७ दशमलव ४० मा पुगेको थियो भने सोमबार केही समयका लागि १५५ दशमलव २३ सम्म बलियो बनेको थियो । बजारमा आवश्यक परे थप हस्तक्षेप हुन सक्ने अनुमान गरिएको छ ।
कमजोर येनले सोनी र टोयोटाजस्ता जापानी निर्यातकर्तालाई प्रतिस्पर्धात्मक लाभ दिलाए पनि ऊर्जा तथा कच्चा पदार्थ आयातमा निर्भर जापानका लागि आयात लागत बढाउने गरेको छ ।
विश्लेषकका अनुसार जापानको ब्याजदर अझै अमेरिकाको भन्दा निकै कम भएकाले लगानीकर्ताले कम ब्याजमा येन सापटी लिएर उच्च प्रतिफल हुने विदेशी सम्पत्तिमा लगानी गर्ने ‘क्यारी ट्रेड’ जारी छ । यही कारण येनमाथि दबाब कायम रहेको उनीहरूको भनाइ छ ।
एमयूएफजीका अर्थशास्त्री माइकल वानले संयुक्त मुद्रा हस्तक्षेपले अल्पकालीन प्रभाव पार्न सक्ने भए पनि विनिमय दरमा दीर्घकालीन सुधारका लागि आर्थिक आधारभूत पक्षमा परिवर्तन आवश्यक पर्ने बताएको छ ।




प्रतिक्रिया