चिनियाँ, फ्रान्सेली र अरबी भाषा सिक्दै परराष्ट्रका कर्मचारी


काठमाडौं, साउन २० । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)ले कूटनीतिक भाषा प्रशिक्षण सुरु गरेको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सोमबार त्रिपुरेश्वरस्थित सगरमाथा सभाकक्षमा आयोजना गरेको कूटनीतिक भाषा प्रशिक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम–२०२६ मार्फत प्रशिक्षणको औपचारिक सुरुआत गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक भाषा प्रशिक्षणसम्बन्धी पहलको औपचारिक शुभारम्भ गरे । परराष्ट्रमन्त्री खनालले कूटनीतिको मूल आधार नै संवाद रहेको बताएका थिए ।

नयाँ भाषा सिकाइले विश्वदृष्टिलाई फराकिलो बनाउने उल्लेख गर्दै उनले नयाँ समुदायसँग सम्बन्ध स्थापित गर्न, विचार प्रत्यक्ष रूपमा आदानप्रदान गर्न तथा नेपालको जानकारी विश्वभर पु¥याउन भाषिक दक्षताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

भाषा प्रशिक्षण कार्यक्रमको उद्देश्य परराष्ट्र सेवाका अधिकृतहरूको भाषिक दक्षता अभिवृद्धि गर्दै कूटनीतिक संलग्नता तथा अन्तरराष्ट्रिय क्षेत्रमा उनीहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनु रहेको आइएफएले जनाएको छ ।

आइएफएकी कार्यकारी निर्देशक रोजिना ताम्राकारले विश्वास निर्माण, कूटनीतिक सम्बन्ध सुदृढीकरण तथा नेपालको ‘सफ्ट पावर’ र सार्वजनिक कूटनीति प्रवर्द्धनमा भाषा तथा सांस्कृतिक समझदारीको महत्व रहेको बताए ।

उनले कार्यक्रमको सफलता र निरन्तरताका लागि सहभागी अधिकृतको अनुशासन र निरन्तर प्रतिबद्धताका साथै परराष्ट्र मन्त्रालयको संस्थागत स्वामित्व र निरन्तर सहयोग आवश्यक रहेकामा जोड दिए ।

नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चिनियाँ भाषा सिकाइ तथा नेपाल–चीन सम्बन्धका विषयमा मन्तव्य दिए । त्यसैगरी, नेपालका लागि फ्रान्सेली राजदूतावासकी कार्यवाहक राजदूत एल्जा क्यालेले फ्रान्सेली भाषा सिकाइ तथा नेपाल–फ्रान्स सम्बन्धका विषयमा धारणा राखे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटका नेपाल निर्देशक डा बलराम दुवाल र अलायन्स फ्रान्सेज द काठमाडौँकी पाठ्यक्रम निर्देशक आन–लोर पोटिएले क्रमशः चिनियाँ र फ्रान्सेली भाषा प्रशिक्षणसम्बन्धी पाठ्यक्रमको परिचय दिँदै यसको संरचना तथा सिकाइका उद्देश्यबारे जानकारी गराए ।

आइएफएका अनुसार चिनियाँ भाषा प्रशिक्षण त्रिभुवन विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटको सहकार्यमा तथा फ्रान्सेली भाषा प्रशिक्षण अलायन्स फ्रान्सेज द काठमाडौँको सहयोगमा सञ्चालन हुनेछ ।

यस्तै, अरबी भाषा प्रशिक्षणसमेत आगामी दुई साताभित्र सुरु गरिनेछ । चिनियाँ भाषा कक्षा प्रत्येक साता तीन दिन तथा फ्रान्सेली र अरबी भाषा कक्षा प्रत्येक साता दुई–दुई दिन सञ्चालन हुनेछन् ।

प्रत्येक कक्षा डेढ घण्टाको हुनेछ । आइएफएले विदेशी भाषा सिकाइलाई क्रमशः नेपालको कूटनीतिक प्रशिक्षण प्रणालीमा एकीकृत गर्दै नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने बृहत्तर प्रयासअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।