अर्थ र अन्तर्राष्ट्रियसहित ५ संसदीय समितिको बैठक आज बस्दै


काठमाडौं, साउन २० । संघीय संसद अन्तर्गत मंगलबार पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने संसद सचिवालयले जनाएकाे हाे ।

अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफाबार छलफल जारी रहने भएकाे छ। बैठक मंगलबार बिहान १० बजे बस्ने भएकाे हाे।

त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । बैठक मंगलबारै बिहान १० बजेका लागि बोलाइएको छ ।

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि मंगलबारै बिहान १० बजे बस्ने भएकाे हाे । बैठकमा ‘खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा’ छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’मा सैद्धान्तिक र दफावार छलफल गर्ने कार्यसूची रहेकाे हाे । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनका सम्बन्धमा पनि छलफल हुनेछ ।

साथै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग सरकारी आश्वासन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएकाे हाे।