संसदीय समितिहरूमा बिजनेसको चाप: राष्ट्र बैंक ऐन संशोधनदेखि ग्यास आपूर्तिसम्ममा छलफल हुँदै


काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका पाँच वटा संसदीय समितिका बैठकहरू आज मंगलबार बस्दै छन्। ऐन संशोधन, विधेयकमाथिको दफावार छलफल र जनसरोकारका विषयमा केन्द्रित रहेर समितिहरूको बैठक डाकिएको हो।

अर्थ र उद्योग समितिमा के-के छन् कार्यसूची?

अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल जारी रहनेछ। बैंकिङ क्षेत्रको नियमन र राष्ट्र बैंकको स्वायत्ततासँग जोडिएको यो विधेयकलाई अर्थतन्त्रका जानकारहरूले चासोका साथ हेरेका छन्।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक भने जनसरोकारको विषयमा केन्द्रित हुनेछ। बैठकमा ‘खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा’ सम्बन्धित निकायका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

राज्य व्यवस्था, पर्यटन र सार्वजनिक नीति समिति

राज्यव्यवस्था तथा सुशासन समिति: ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिक व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ उपर सैद्धान्तिक र दफावार छलफल हुनेछ। साथै, कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदन प्रस्तुत र छलफल गर्ने कार्यसूची छ।

  • अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति: बहुप्रतिक्षित ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा मन्त्रालयका पदाधिकारीहरूसँग सैद्धान्तिक छलफल गरिनेछ।
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति: समितिका पूर्वसभापति रामनारायण विडारीलाई आमन्त्रण गरी सरकारी आश्वासन कार्यान्वयनको अवस्था र आगामी रणनीतिबारे अनुभव आदानप्रदान तथा छलफल गरिनेछ।