रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, कारणबारे प्रहरी अनुसन्धान जारी


काठमाडौँ । पूर्वी रोमानियाको बाकाउ सहरमा रेलको ठक्करबाट दुई नेपाली नागरिकको ज्यान गएको छ। स्थानीय समयअनुसार आइतबार बिहान करिब ३:२१ बजे चिमी सडक खण्ड नजिक गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनाको लगत्तै बाकाउ आपत्कालीन सेवा निर्देशनालयको टोली उद्धारका लागि परिचालन भएको थियो। दमकल, एम्बुलेन्स तथा सघन उपचार मोबाइल युनिटसहितको टोली घटनास्थल पुगे पनि दुवै जनालाई बचाउन सकिएन।

आपत्कालीन सेवा निर्देशनालयद्वारा जारी विज्ञप्तिअनुसार प्रारम्भिक सूचनामा दुई जना गम्भीर घाइते भएको खबर प्राप्त भएपछि तत्कालै उद्धार टोली खटाइएको थियो। तर, चिकित्सक टोली घटनास्थल पुग्दा दुवैको प्राण गइसकेकाले उनीहरूलाई मृत घोषणा गरिएको थियो।

प्रारम्भिक अनुसन्धानबाट मृतकहरू नेपाली नागरिक भएको पुष्टि भइसकेको छ। यद्यपि, उनीहरूको नाम, नेपालको ठेगाना तथा रोमानियामा उनीहरूको कानुनी स्थिति (कामदार वा विद्यार्थी) सम्बन्धी थप विवरण भने सार्वजनिक गरिएको छैन।

नेपाली नागरिकहरू मध्यराति/बिहानको समयमा रेलमार्गमा कसरी पुगे र दुर्घटना कसरी भयो भन्ने विषयमा स्थानीय प्रहरी तथा रेलवे अधिकारीहरूले गहन अनुसन्धान सुरु गरेका छन्। घटनाबारे सम्बन्धित नेपाली दूतावास वा कूटनीतिक नियोगबाट थप विवरण आउन बाँकी छ।