बाजुरा, १९ साउन । बाजुरामा विषालु जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी भएकी छिन्। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७, ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन्।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब ४ बजे रामे थापा र उनकी श्रीमती ५० वर्षीया नामसरी थापा जङ्गली च्याउ खाएपछि बिरामी भएकी थिइन्।
बिरामी दुवै जनालाई राति करिब ११ बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।
उनका अनुसार अस्पतालमा चिकित्सकले परीक्षण गर्दा रामे थापालाई मृत घोषणा गरेका थिए। नामसरी थापाको अवस्था गम्भीर रहेकाले जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक रामे थापाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको सूचना अधिकारी शाहीले बताए ।




प्रतिक्रिया