संसद्‌मा कांग्रेसको प्रस्ताव: सर्वदलीय, सर्वधार्मिक र नागरिक संवाद संयन्त्र बनाऔँ


काठमाडौँ । नेपाली कांग्रेसले देशमा विकसित हालैका संवेदनशील घटनाक्रमलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको नेतृत्वमा स्थायी प्रकृतिको ‘सर्वदलीय, सर्वधार्मिक र नागरिक संवाद संयन्त्र’ गठन गर्न सरकारसँग माग गरेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले समाजमा विद्यमान अविश्वास र बढ्दो ध्रुवीकरण अन्त्यका लागि यस्तो संयन्त्र अपरिहार्य भइसकेको बताए। उनले प्रस्ताव गरेको संयन्त्रमा राजनीतिक दल र नागरिक समाजका अतिरिक्त धार्मिक समुदाय, स्थानीय सरकार र सुरक्षा निकायको समेत प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए।

सचेतक राईले कुनै पनि धर्म, सम्प्रदाय वा समुदायलाई सामूहिक शंकाको घेरामा राखेर हेर्न नहुने भन्दै राज्य संयन्त्र थप संवेदनशील हुनुपर्ने उल्लेख गरे। साथै, सामाजिक सञ्जालमार्फत द्वेष र भ्रम फैलाउने तत्वहरूमाथि कडा कारबाही गर्न उनले सरकारको ध्यानाकर्षण गराए।

मुलुकमा उत्पन्न जटिल परिस्थितिमा सरकारले कुनै एक पक्षको मात्र नभई सम्पूर्ण नागरिकको ‘साझा अभिभावक’को रूपमा परिपक्व र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने कांग्रेसको ठहर छ।