इथियोपियामा मठमाथि भूस्खलन, १४ जनाको मृत्यु


आदिस अबाबा, १९ साउन। इथियोपियाको उत्तरी अम्हारा क्षेत्रमा रहेको एक अर्थोडक्स मठमाथि भारी वर्षापछि आएको भूस्खलन हुँदा प्रार्थनामा सहभागी १४ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्थानीय धार्मिक अधिकारीहरूले मृतकको सङ्ख्या अन्तिम भएको बताएका छन् ।

डायोसिस प्रमुख मेगाबे हादिस नेका तिबेब अबाबूका अनुसार राजधानी आदिस अबाबाबाट करिब २०० किलोमिटर उत्तरपूर्वमा पर्ने सेला डिङ्गे क्षेत्रमा सोमबार बिहान रातभर परेको मुसलधारे वर्षा, चट्याङ र गर्जनपछि भूस्खलन भएको हो ।

उहाँका अनुसार चट्टानसहितको माटो पहाडबाट खसेर साद्काने मरियम अर्थोडक्स मठको केही भाग पुरिएको थियो । त्यस क्रममा मठभित्र प्रार्थना गरिरहेका १४ जना उपासकको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेमध्ये तीन जनालाई गम्भीर अवस्थामा डेब्रे बिरहान अस्पतालमा भर्ना गरिएको छ भने अन्य घाइतेहरूको पनि उपचार भइरहेको छ ।

सेला डिङ्गे पर्ने उत्तरी शेवा क्षेत्रका स्थानीय प्रशासनले पनि सोमबार १४ जनाको मृत्यु भएको पुष्टि गर्दै घटनालाई भूकम्पसँगै आएको आकस्मिक भूस्खलनको परिणाम भनेको छ । यद्यपि घटनाको विस्तृत कारणबारे अनुसन्धान जारी छ ।

करिब १३ करोड जनसङ्ख्या रहेको इथियोपियामा जुनदेखि सेप्टेम्बरसम्म लामो वर्षायाम रहने भएकाले यस अवधिमा बाढी र भूस्खलनजस्ता विपद्का घटना बारम्बार हुने गर्छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने ठूलो जनसङ्ख्या भएकाले यस्ता प्राकृतिक प्रकोपबाट मानवीय क्षति पनि बढी हुने गरेको छ ।

गत जुलाई २०२४ मा इथियोपियाको दक्षिणी क्षेत्रमा आएको भूस्खलनमा कम्तीमा २५७ जनाको मृत्यु भएको थियो भने यसै वर्ष मार्चमा सोही क्षेत्रमा बाढी र भूस्खलनका कारण ८० जनाले ज्यान गुमाएका थिए ।रासस