तुलसीपुर उपमहानगरपालिकाको लक्ष्यअनुसार राजस्व सङ्कलन कठिन


दाङ, १९ साउन । तुलसीपुर उपमहानगरपालिकाले लक्ष्य अनुसारको राजस्व असुली गर्न सकेको छैन ।

आर्थिक वर्ष २०८२/८३ मा उक्त नगरपालिकाले रु ७२ करोड १५ लाख राजस्व जम्मा गर्ने लक्ष्य राखेको थियो । गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा उपमहानगरपालिकाको भवन जलेर क्षतिग्रस्त भएपछि लक्ष्य अनुसारको राजस्व जम्मा हुन कठिन भएको सूचना अधिकारी यज्ञबहादुर केसीले बताए ।

उपमहानगर पालिकाले आर्थिक वर्ष २०८२/८३ जम्मा रु ४१ करोड ७६ लाख ९० हजार ७० राजस्व सङ्कल गरेको छ । सम्पत्ति करबाट रु एक करोड ९५ लाख ९९ हजार २११, भूमिसम्बन्धी करबाट रु दुई करोड ४० लाख १० हजार ३६९, नदीजन्य पदार्थ ठेक्काबाट रु एक करोड ५२ लाख ९६ हजार १३२ र मालपोत करबाट रु १६ करोड ९१ लाख ९० हजार ६७४ राजस्व जम्मा गरिएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरपालिकाले रु ३६ करोड ७१ लाख राजस्व सङ्कलन गरेको थियो । उपमहानगरले सरसफाइ, पर्यटन, नक्सा पास, व्यवसाय, घर बहाल, सम्पत्ति करलगायत शीर्षकबाट राजस्व सङ्कलन गर्दै आएको छ ।