निःशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण


वीरगञ्ज (पर्सा), २० साउन । रोटरी डायग्नोस्टिक सेन्टर, वीरगञ्जद्वारा सञ्चालित रोटरी महावीर जयपुर फुट पुनस्र्थापना केन्द्रले तीन जना अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण गरेको छ ।

केन्द्रले मङ्गलबार यहाँ आयोजित कार्यक्रममा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका राधा पौडेल, थमन सिंह ताम्राकार र झबिन्द्र बहादुरलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण गरेको हो । पौडेलले दुर्घटनामा हात गुमाएको थियो । त्यसैगरी, थमन सिंह र झबिन्द्रले दुर्घटनाकै कारण खुट्टा गुमाएको थियो ।

केन्द्रले आर्थिक अवस्था कमजोर भएका तथा दुर्घटना वा अन्य कारणले हात–खुट्टा गुमाएका व्यक्तिलाई पुनः सामान्य, आत्मनिर्भर र सम्मानजनक जीवनयापनमा फर्काउने उद्देश्य राखेको छ । हाल सञ्चालन भइरहेको यस परियोजनाबाट हालसम्म एक हजार १०० भन्दा बढी व्यक्तिले निःशुल्क कृत्रिम हात तथा खुट्टाको सेवा प्राप्त गरिसकेको छ ।

रोटरी क्लब अफ वीरगञ्जका नवनिर्वाचित अध्यक्ष राकेश मिश्रले केन्द्रले विगत पाँच वर्षदेखि आर्थिक रूपमा विपन्न तथा दुर्घटना, रोग वा अन्य कारणले हात–खुट्टा गुमाएका व्यक्तिलाई निःशुल्क कृत्रिम अङ्ग उपलब्ध गराउँदै उनीको जीवन सहज, आत्मनिर्भर र सम्मानजनक बनाउन सहयोग गर्दै आएको बताए ।