अर्थमन्त्री डा. वाग्ले र राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूबीच छलफल


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको वर्तमान वित्तीय अवस्था, आर्थिक चुनौती र तिनको समाधानका सम्भावित उपायबारे राष्ट्र बैंकका उच्च अधिकारीहरूसँग छलफल भइरहेको छ । अर्थ मन्त्रालयको सुवर्ण हलमा बिहान ९:१५ बजे सुरु बैठकमा नेपाल राष्ट्र बैंकका सम्पूर्ण कार्यकारी निर्देशकहरूको सहभागिता छ।

सामान्यतया अर्थमन्त्रालयले राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरहरूसँग मात्रै नियमित भेटघाट र समन्वय गर्दै आएकोमा कार्यकारी निर्देशकहरूसँग हुन लागेको यो प्रत्यक्ष संवादलाई अर्थपूर्ण मानिएको छ। नीति निर्माण र कार्यान्वयनको प्रत्यक्ष अनुभव बोकेका कार्यकारी निर्देशकहरूसँगको संवादले देशको वित्तीय अवस्थाको यथार्थ चित्रण ल्याउने अपेक्षा गरिएको छ।

बैठकको मुख्य उद्देश्य देशको समष्टिगत आर्थिक तथा वित्तीय अवस्थाको गहिराइ बुझ्नुका साथै उपलब्ध मौद्रिक उपकरणहरूको प्रभावकारी कार्यान्वयनमार्फत अर्थतन्त्रमा देखिएका सुस्तता र समस्या पहिल्याएर ठोस समाधानका उपायहरू निकाल्नु रहेको छ। नीतिगत तहमा रहेका अधिकारीहरू र कार्यान्वयन तहका निर्देशकहरूबीचको यो प्रत्यक्ष संवादले अर्थतन्त्रलाई गति दिन नयाँ मार्गप्रशस्त गर्ने अनुमान गरिएको छ।