काठमाडौँ, २१ साउन । काठमाडौँको गुह्येश्वरीमा निर्माण गरिएको गुह्येश्वरी ढल प्रशोधन केन्द्रले हाल दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन गर्न थालेको छ ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्वारा निर्माण गरिएको उक्त ढल प्रशोधन केन्द्रले हाल दैनिक रुपमा तीन करोड २४ लाख लिटर ढल प्रशोधन गरिरहेको पिआइडीका प्रमुख एवम् इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माणको काम अघि बढिरहेको छ । पिआइडीले सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा समेत ढल प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । ती केन्द्रको निर्माण शीघ्र सम्पन्न हुने जनाइएको छ ।
पिआइडी प्रमुख एवम् इन्जिनियर श्रेष्ठले काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न थप ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक रहेको बताए ।
उनले भने, “उपत्यकाका विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छन् । काठमाडौँका नदी र वातावरण सफा राख्न अझै थप यस्ता ढल प्रशोधन केन्द्र निर्माण गर्नु पर्दछ ।”
प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न ढलको पानी र बर्सातको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक रहेको उनको भनाइ छ । यसका लागि स्थानीय तहसँग समेत प्रभावकारी समन्वय र आवश्यक नीति कार्यान्वयन गर्नुपर्ने उनले बताए ।
उनका अनुसार पानीको चाप बढ्ने, बाटोमा भएका बालुवा, इँटा, मरेका जनावर लगायतका फोहोर प्रशोधन केन्द्रमा पुगी त्यको क्षमता घटाइदिने गरेको छ ।
ढल र बर्सातको पानी एउटै प्रणालीबाट बगाउँदा प्रशोधन केन्द्रमा अनावश्यक पानीको चाप बढ्ने भएकाले छुट्टाछुट्टै पाइप प्रणाली विकास गर्न सके ढल प्रशोधनको क्षमता र प्रभावकारिता बढाउन सकिने पिआइडीले जनाएको छ ।




प्रतिक्रिया