काठमाडौँ। लामो समयदेखि राजनीतिक विभाजन र ध्रुवीकरणमा रुमल्लिँदै आएका मधेसकेन्द्रित राजनीतिक दलहरू साझा राजनीतिक एजेन्डासहित नयाँ सहकार्यको दिशामा अग्रसर भएका छन्। क्षेत्रीय राजनीतिमा आफ्नो गुमेको प्रभाव पुनःस्थापित गर्ने र राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जनाउने उद्देश्यका साथ सात दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने अन्तिम तयारी गरिरहेका छन्।
प्राप्त प्रारम्भिक सहमतिअनुसार उक्त मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी हुने भएका छन्।
यस राजनीतिक पहलको सबैभन्दा रोचक र विशेष पक्ष भनेको विगतमा तीक्ततापूर्ण सम्बन्धमा रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र आम जनता पार्टीका अध्यक्ष प्रभु साहको सम्भावित सहकार्य हो। चर्चित गौर घटनापछि पहिलोपटक यी दुई नेता एउटै राजनीतिक मञ्च र अभियानमा सहकार्य गर्न तयार हुनुलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।
सहकार्यको आवश्यकता प्रष्ट्याउँदै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वर्तमान संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थाको रक्षाका लागि साझा अभियान अपरिहार्य बनेको बताएका छन्। उनका अनुसार सुरुवाती चरणमा सबै दलहरूले आफ्नो सांगठनिक अस्तित्व छुट्टै कायम राख्दै साझा मुद्दाहरूमा एकीकृत मोर्चा बनाएर अघि बढ्नेछन्।
मोर्चाको रणनीतिक रोडम्यापअनुसार आगामी निर्वाचनमा सम्भव भएसम्म एउटै चुनाव चिह्नमा चुनाव लड्ने, त्यसो नभए चुनावी तालमेल गर्ने र दीर्घकालमा पार्टी एकीकरणसम्मको लक्ष्य राखिएको छ। यसका लागि विगत दुई महिनादेखि विभिन्न तहमा आन्तरिक छलफल र गृहकार्य भइरहेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो मोर्चाको सफलता केवल घोषणामा मात्र सीमित नभई यसको आन्तरिक सुदृढता, साझा नेतृत्वको स्वीकार्यता र दीर्घकालीन निरन्तरतामा निर्भर रहनेछ। पछिल्लो समय बदलिएको राजनीतिक समीकरण र नयाँ राजनीतिक शक्तिहरूको उदयले सिर्जना गरेको चुनौतीबीच मधेसकेन्द्रित दलहरूले आफ्नो राजनीतिक जनाधार बचाउन साझा थलो निर्माणको प्रयास थालेको देखिन्छ।




प्रतिक्रिया