भारतीय सेना प्रमुख जनरल धीरज सेठ साउन ३१ मा नेपाल आउँदै, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने


काठमाडौं । नेपाली सेनाको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ यही साउन ३१ गते (अगस्ट १६) पाँच दिने औपचारिक भ्रमणका क्रममा नेपाल आउने भएका छन् । गत जुन ३० मा भारतीय स्थल सेनाध्यक्षको कार्यभार सम्हालेका सेठको यो पहिलो नेपाल भ्रमण हो।

नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको निमन्त्रणामा नेपाल आउन लागेका जनरल सेठलाई विशेष समारोहका बीच नेपाली सेनाको ‘मानार्थ महारथी’ दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।

नेपाल र भारतबीच एकापसमा विश्वासिलो सम्बन्धको प्रतीकका रूपमा सन् १९५० देखि नै एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट एवं ऐतिहासिक परम्परा रहँदै आएको छ।

यसअघि नेपाली सेनाका प्रधानसेनापति सिग्देललाई पनि गत २०८१ मंसिर २७ गते भारत भ्रमणका क्रममा भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिसकिएको छ। जनरल सेठको यस भ्रमणले दुवै देशका सेनाबीचको सांस्कृतिक तथा रणनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।