काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति (निस्सा प्रदान) दिएपछि विशेष महाधिवेशनका सम्पूर्ण तथ्यहरू अदालतसमक्ष पुनः प्रस्तुत गर्न आफूहरू तयार रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उपसभापति शर्माले संयम र परिपक्वताका साथ विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण तथ्य सम्मानित न्यायालयसमक्ष पेस गरिने उल्लेख गरेका हुन्। यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गर्दै विवादको न्यायिक निरूपण गरिसकेकाले पुनरावलोकनमा जानु आवश्यक नरहेको आफ्नो मत रहेको समेत उनले स्पष्ट पारेका छन्।
तथापि, पुनः परीक्षणको यो प्रक्रियाले विशेष महाधिवेशनको वैधानिक आधार र राजनीतिक यथार्थलाई अझ स्पष्ट र फराकिलो रूपमा उजागर गर्न मद्दत पुग्ने विश्वास शर्माले व्यक्त गरेका छन्।
सर्वोच्च अदालतले बिहीबार पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काद्वारा दायर पुनरावलोकन निवेदनमा निस्सा प्रदान गरेसँगै नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अब पुनः पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।




प्रतिक्रिया