सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि सद्भाव सभामा झडपको स्थिति, प्रहरी नियन्त्रणमा बाहिर निकालियो


काठमाडौ । सिरहाको गोलबजारमा हिन्दु–मुस्लिम समुदायबीच सद्भाव कायम गर्ने उद्देश्यले आयोजित संयुक्त श्रद्धाञ्जली कार्यक्रममा विवाद भएको छ।

शान्ति, सहिष्णुता र आपसी भाइचाराको सन्देश दिन बिहीबार आयोजित कार्यक्रममा दुवै समुदायका नागरिक, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सुनसरीका तीन जना र सिरहाका एक जना मृतकप्रति संयुक्त रूपमा श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रमका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य तपेश्वर यादवले गोलबजारका केही राजनीतिक दल तथा व्यक्तिलाई लक्षित गर्दै अभिव्यक्ति दिएपछि विवाद सुरु भएको हो। उनले गोलबजारकै केही राजनीतिक दल र व्यक्तिका कारण घटना भएको भन्ने आशय व्यक्त गरेपछि कार्यक्रममा उपस्थित विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा समर्थकबीच भनाभन भएको थियो।

स्थिति तनावपूर्ण बन्दै गएपछि प्रहरीले हस्तक्षेप गर्दै सांसद यादवलाई सुरक्षित रूपमा कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो। घटनापछि कार्यक्रमको अवस्था सामान्य बनाइएको प्रहरीले जनाएको छ। विवादबारे थप विवरण आउन बाँकी छ।