विश्वासको मत नपाउने भए सुदूरपश्चिमका मुख्यमन्त्री शाह, भोलि राजीनामा दिने


काठमाडौं, साउन २७ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि राजीनामा दिने भएका छन्। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेपछि उनले राजीनामा दिन लागेका हुन्। मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमका अनुसार मुख्यमन्त्री शाहले भोलि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

गत असार ३१ गते नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए। संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि भोलि पूरा हुँदैछ।

विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने सम्भावना नदेखिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनुभन्दा राजीनामा दिने निर्णय गरेका हुन्।

यसैबीच, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्दैछ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नयाँ सरकार गठनका लागि नेकपा र एमालेबीच सहमति भइसकेको बताइएको छ। सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी छ।