नरभक्षी बाघ खोरमा


नारायणगढ (चितवन), २७ साउन । भरतपुर महानगरपालिका–२८ जितपुरका ६५ वर्षीय मङ्गले बोटे मार्ने बाघलाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित खोरमा लगिएको छ ।

प्रहरीका अनुसार आज बिहान मङ्गले सोही स्थानका ५५ वर्षीय जीवन बोटेसँगै ‘मर्निङवाक’मा निस्किनुभएको थियो । केही समयपछि मङ्गले सम्पर्कविहीन भएपछि प्रहरीलाई खबर गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खबरप्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर खोजी सुरु गरेको थियो । बाघले आक्रमण गरेको हुनसक्ने देखिएपछि नेपाली सेना, चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, स्थानीय जनप्रतिनिधि तथा स्थानीयको सहयोगमा हात्ती परिचालन गरी खोजी तीव्र पारिएको थियो ।

खोजीका क्रममा मङ्गलबार घटनास्थलबाट करिब चार–पाँच किलोमिटर पूर्वतर्फ राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गरेको अवस्थामा एक जनाको शव फेला परेको थियो । उक्त शव मङ्गले बोटेको भएको र उनका छोराले सनाखत गरेको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

शव फेला परेपछि नरभक्षी बाघको खोजीलाई थप तीव्र पारिएको थियो । खोजीका क्रममा सोही क्षेत्रमा बाघ देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत वन्यजन्तु प्राविधिकले डार्ट गरी नियन्त्रणमा लिएका थिए ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मानिसमाथि बाघले आक्रमण गरेको जानकारी प्राप्त भएलगत्तै मानिस र बाघको खोजी सुरु गरिएको थियो । खोजीका क्रममा मानिस मृत अवस्थामा फेला परेपछि बाघको खोजीलाई थप सक्रिय बनाइएको थियो । सबैको प्रयासमा बाघलाई डार्ट गरी नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

“बाघ हेर्दा भाले अन्दाजी सात–आठ वर्षको जस्तो देखिन्छ । हेर्दा स्वस्थ नै छ । दाह्रा पनि राम्रो छ,” उनले भने । उनका अनुसार नियन्त्रणमा लिइएको बाघलाई सौराहास्थित खोरमा लगिएको छ । बाघको बाहिरी स्वास्थ्य अवस्था सामान्य देखिए पनि भित्री स्वास्थ्यको अवस्था परीक्षण तथा निगरानीपछि मात्र थाहा हुने उनले बताए ।

यससँगै चितवन राष्ट्रिय निकुञ्जका खोरमा विभिन्न कारणले नियन्त्रणमा लिइएका बाघको सङ्ख्या सात पुगेको छ । तीमध्ये पाँच भाले र दुई पोथी छन् । अधिकांश नरभक्षी बनेपछि निकुञ्जले नियन्त्रणमा लिएको हो । एउटा बाँकेबाट ल्याइएको हो भने अन्य चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर राखिएको हो ।