सुदूरपश्चिम, २९ साउन । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट मुलुकको राजनीतिमा परिचित नाम हो । उहाँ हाल नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता हुन् । भट्ट विसं २०७९ मा भएको प्रदेशसभा निर्वाचमा डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् ।
उनी डडेल्धुराको अजयमेरु गाउँपालिका–४ चौडीमा विसं २०३१ पुस २ मा स्वर्गीय रामदत्त भट्ट र गोमतीदेवी भट्टका सन्तानका रूपमा जन्मिएका हुन् । भट्टको प्रारम्भिक जीवन डडेल्धुरामै बित्यो । उनको शैक्षिक योग्यता आईएल तहसम्मको छ । भूमिगत राजनीतिदेखि सङ्गठनात्मक जिम्मेवारीसम्म भट्टले विसं २०४७ मा नेकपा एकता केन्द्रको सदस्यता लिएर औपचारिक राजनीतिक यात्रा सुरु गरेका थिए । विसं २०५० असोजदेखि उनी पार्टीको पूर्णकालीन सदस्य बने । सोही वर्षको कात्तिकमा नेकपा एकता केन्द्रको डडेल्धुरा जिल्ला सदस्यको जिम्मेवारीसमेत सम्हाले।
राजनीतिक गतिविधिका क्रममा विसं २०५२ फागुन २४ गते अमरगढी नगरपालिका–३ बाट ‘राज्यविरुद्ध अपराध’सम्बन्धी मुद्दामा पक्राउ परेका भट्टले विसं २०५३ पुस ८ गतेसम्म जेल जीवन बिताए । त्यसपछि उनी तत्कालीन माओवादीले गरेको सशस्त्र द्वन्द्वमा विसं २०५२ फागुन १ देखि २०६३ वैशाख १२ गतेसम्म भूमिगत राजनीतिक गतिविधिमा सक्रिय रहे ।
माओवादी आन्दोलनका क्रममा उनी विसं २०५८ साउनमा उनी नेकपा (माओवादी) का डडेल्धुरा जिल्ला सेक्रेटरी, विसं २०५९ पुसमा दार्चुला र बैतडी जिल्ला इञ्चार्ज, विसं २०६० मा केन्द्रीय सदस्य बनेका भट्टले विसं २०६४ मा सेती–महाकाली राज्य समितिको सचिवको जिम्मेवारी सम्हाले ।
पछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) को एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विसं २०७६ मा उनी सुदूरपश्चिम प्रदेश सहइञ्चार्ज बने । नेकपा विभाजनपछि विसं २०७८ मा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी सम्हाले । भट्टले विसं २०८० मा पार्टीको स्थायी समिति सदस्यको जिम्मेवारी प्राप्त गरे ।
संसदीय निर्वाचन यात्रा
नवनियुक्त मुख्यमन्त्री भट्ट संसदीय राजनीतिमा पनि निरन्तर सक्रिय छन् । डडेल्धुराबाट उनी विसं २०६४, २०७० मा संविधानसभा र २०७४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बने, तर नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका निकटतम प्रतिद्वन्द्वी रहे।
विसं २०७९ को प्रदेशसभा निर्वाचनमा डडेल्धुरा प्रदेशसभा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएसँगै भट्टको राजनीतिक भूमिका प्रदेशसभामा केन्द्रित भयो । उनलाई तत्कालीन अवस्थामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचित हुँदा मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिएको थियो । विसं २०८० मा भट्ट सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता बने, तर यसअघि मुख्यमन्त्री बन्ने अवसर आएन ।
लामो समय सङ्गठनात्मक तथा राजनीतिक भूमिकामा रहेका भट्टका लागि प्रदेशसभा प्रवेशले जनप्रतिनिधिका रूपमा नीति निर्माण र प्रदेश विकासका मुद्दामा प्रत्यक्ष भूमिका निर्वाह गर्ने अवसर प्रदान ग¥यो ।
भट्टले आफ्नो राजनीतिक तथा संसदीय यात्रामा सुशासन, सामाजिक न्याय र वैज्ञानिक विकासको वकालत गर्दै आएका छन् । उनले प्रदेशको आर्थिक तथा सामाजिक विकासका लागि कृषि, पर्यटन, जलस्रोत, खेलकुद, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि प्रतिबद्धता जाहेर गर्दै आएका थिए । सुदूरपश्चिमको सम्भावनालाई प्रदेशको समग्र विकाससँग जोड्नुपर्ने उनको सैद्धान्तिक अडान रहँदै आएको छ ।
लामो राजनीतिक सङ्घर्षबाट प्रदेशसभाको नेतृत्व तहसम्म आइपुगेका भट्ट आफूलाई सादगी, विकासप्रेमी र सुशासनका अभियन्ताका रूपमा प्रस्तुत गर्दै आएकोमा अब त्यसलाई प्रमाणित गने जिम्मेवारी पाएका छन् ।
लामो राजनीतिक सङ्घर्षबाट प्राप्त अनुभव र लामो प्रतिक्षापछि प्राप्त मुख्यमन्त्रीको जिम्मेवारीलाई अब प्रदेशको नीति निर्माण र जनताको अपेक्षा सम्बोधनमा कसरी उपयोग गर्छन् भन्नेमा धेरैको चासो रहेको छ । रासस




प्रतिक्रिया