लघुवित्त पीडितको आँसु पुछ्न चिसो सडकमै पुगे ऋषि धमला: राज्यका उच्च अधिकारीहरूलाई तत्काल कदम चाल्न गराए ध्यानाकर्षण !


ललितपुर । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले देशका कुना-काप्चाबाट न्यायको याचना गर्दै काठमाडौँ आइपुगेका गरिब, दुःखी र उत्पीडित लघुवित्त तथा सहकारी पीडितहरूको समस्या समाधान गर्न पहलकदमी लिएका छन्।

ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको प्राङ्गणमा विगत तीन दिनदेखि चिसो र सास्ती सहँदै धर्नामा बसेका तराई-मधेशका नि:सहाय नागरिकहरूको उद्धारका लागि अध्यक्ष धमला आफैं अग्रपंक्तिमा खटिएका हुन् ।

मधेशका विभिन्न दुर्गम जिल्लाहरूबाट कष्टकर पैदलयात्रा गर्दै बिहीबार कलंकी आइपुगेका र शुक्रबार साँझदेखि मानवअधिकार आयोगअगाडि धर्ना दिइरहेका पीडितहरूको न्यायका लागि धमलाले राज्यका निकायहरूलाई तत्काल कदम चाल्न आग्रह गरेका छन् ।
धर्नास्थल पुगेर पीडितहरूसँग प्रत्यक्ष संवाद गर्दै अध्यक्ष धमलाले आफू उनीहरूको अभिभावक बनेर उभिने र समस्याको दीर्घकालीन समाधान नभएसम्म विश्राम नलिने घोषणा गरे।

धमलाले ललितपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल सरकारका उच्चस्तरीय प्रतिनिधि, गृहमन्त्रालय तथा राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग लगातार समन्वय र वार्ता गरिरहेको बताएका छन्।
आयोग परिसरमा धर्ना दिइरहेका पीडितहरूले ‘हाम्रो माग पूरा गर’, ‘चाहियो, चाहियो, न्याय चाहियो’ भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।
धमलाको यो तदारुकता र मध्यस्थतालाई लिएर धर्नास्थलमा उपस्थित सर्वसाधारणले उनको प्रशंसा गरेका छन्।