घिसिङ ,राउत र धमला माइतीघरमा, सरकारलाई भने– ‘विद्युत्‌मा लगाइएको ५ प्रतिशत कर खारेज गर’


काठमाडौँ । सरकारले विद्युत्‌मा लगाएको ५ प्रतिशत कर खारेज गर्न माग गर्दै उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान सुरु गरेको छ। डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल तत्काल उठाउनुपर्ने मागसहित पार्टीले आज माइतीघरदेखि अभियान थालेको हो।

अभियानमा वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै धमलाले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले कार्यकारी निर्देशकका रूपमा रहँदा विद्युत् क्षेत्रमा राम्रो काम गरेको भन्दै प्रशंसा गरे। उनले विद्युत् क्षेत्रमा सुधार र आम नागरिकलाई राहत दिने नीतिलाई प्राथमिकता दिनुपर्ने बताए।

धमलाले सरकारले विद्युत्‌मा लगाएको ५ प्रतिशत शुल्क खारेज गर्न सरकारसँग माग गरे। ‘सरकारले बिजुलीमा ५ प्रतिशत भ्याट लगाउनु गलत हो,’ उनले भने, ‘सरकारले शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा जनतालाई निःशुल्क उपलब्ध गराउनुपर्छ।’

उनले आर्थिक रूपमा विपन्न, गरिब तथा निमुखा नागरिकलाई राज्यले निःशुल्क विद्युत् उपलब्ध गराउने नीति लिनुपर्नेमा समेत जोड दिए।

धमलाले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल तत्काल उठाउन पनि सरकारलाई आग्रह गरे। एक महिनाभित्र बक्यौता महसुल नउठाए स्वतन्त्र नागरिक अभियान सडकमा आउने उनले चेतावनी दिए।

उनले विद्युत् महसुलको बक्यौता असुलीमा सरकारले कुनै दबाब वा प्रभावमा नपरी कानुनअनुसार प्रक्रिया अघि बढाउनुपर्ने बताए।