नेस्ट नेपालको सामुदायिक सहभागिता कार्यक्रम, १७ बालबालिकालाई सहयोग



काठमाडौँ । नेस्ट नेपालले कीर्तिपुरस्थित सहयोगी बालबालिका पहल प्रतिष्ठान (Supporting Children Initiative Foundation–SCIF) मा कर्पोरेट सामाजिक उत्तरदायित्व तथा सामुदायिक सहभागिता कार्यक्रम आयोजना गरेको छ।


आइतबार (१६ अगस्टमा) आयोजित कार्यक्रममा नेस्ट नेपालका प्रमुख कार्यकारी अधिकृत कुशल काफ्ले र प्रमुख अधिकृत सुभाष कँडेलसहित करिब ६० जना कर्मचारीको सहभागी रहेको थियो ।



सन् २०१६ मा स्थापना भएको एससीआईएफले हाल १७ जना बालबालिकाको हेरचाह तथा सहयोग गर्दै आइरहेको छ। संस्थाले बालबालिकालाई शिक्षा, सुरक्षित वातावरण तथा भविष्यका लागि आवश्यक अवसर उपलब्ध गराउँदै आएको जनाएको छ।




एससीआईएफका संस्थापक बसन्त बी.सी.को समन्वयमा भएको कार्यक्रममा नेस्ट नेपालले संस्थाको आवश्यकता पहिचान गरी सोहीअनुसार घरायसी सामग्री, खाद्यान्न, शैक्षिक तथा लेखन सामग्री, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण गरेको थियो।

कम्पनीले आवश्यकता मूल्याङ्कन गरेर सहयोग सामग्री छनोट गरिएको जनाएको छ। सामान्य रूपमा सामग्री वितरण गर्नेभन्दा संस्थाको वास्तविक आवश्यकता र बालबालिकाको हितलाई प्राथमिकतामा राखेर सहयोग गरिएको नेस्ट नेपालको जनाएको छ।


सामग्री हस्तान्तरणपछि नेस्ट नेपालका कर्मचारीहरूले बालबालिकासँग विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा समेत सहभागिता जनाएका थिए। चम्चा तथा मार्बल दौड, सामूहिक कला गतिविधि तथा अन्य खेलहरू सञ्चालन गरिएको थियो।


कार्यक्रममा बालबालिका र कर्मचारीहरूले अभियानको ब्यानरमा रंगीन हातका छाप तथा मसीका छाप राख्दै सामुदायिक सहभागिताको सन्देश दिएका थिए। बालबालिकालाई चकलेट तथा व्यक्तिगत उपहारसमेत वितरण गरिएको थियो।


नेस्ट नेपालले बालबालिकाको हेरचाह, शिक्षा तथा आत्मनिर्भर भविष्य निर्माणमा एससीआईएफले गर्दै आएको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि स्थानीय समुदाय तथा सामाजिक संस्थासँग सहकार्य गरेर यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ।