काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्यले कोशी प्रदेश सरकारमा मन्त्री बनेर ह्याट्रिक गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सोमबार (भदौ १ गते) आचार्यलाई भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी दिइएसँगै उनी कोशी प्रदेशमा तीनपटक मन्त्री बन्ने नेताको सूचीमा परेका हुन् ।
आचार्यको मन्त्री यात्रालाई हेर्दा यो सामान्य राजनीतिक संयोग मात्र हो कि राजनीतिक पहुँचको परिणाम भन्ने प्रश्न उठेको छ । उनी प्रचण्डकी कान्छी छोरी गंगा दाहालका श्रीमान् हुन् ।
पारिवारिक सम्बन्धका कारण आचार्यले हरेकपटक मन्त्री पद पाउँदा उनको राजनीतिक क्षमतासँगै ‘पारिवारिक पहुँच’को प्रश्न पनि जोडिँदै आएको छ ।
आचार्य पहिलोपटक २०७९ पुस २९ गते कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । त्यतिबेला एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए । त्यतिबेला आचार्यलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
त्यो समयमा , केन्द्रमा पनि प्रचण्ड प्रधानमन्त्री थिए । कोशीमा एमाले नेतृत्वको सरकारलाई माओवादी केन्द्रको समर्थन थियो । प्रदेशमा माओवादीको भागमा परेको मन्त्री पदमा प्रचण्डका ज्वाइँ आचार्यले अवसर पाएका थिए ।
तर उनको पहिलो मन्त्री पद लामो समय टिकेन । केन्द्रमा एमाले–माओवादी गठबन्धन टुटेपछि कोशीको सत्ता समीकरण पनि फेरियो । हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्यो र कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बने ।
त्यसपछि आचार्यले पुनः मन्त्रीको अवसर पाए ।
२०८० असार २४ गते मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गर्दा जीवन आचार्यलाई दोस्रोपटक मन्त्री नियुक्त गरे । यसपटक उनले आर्थिक मामिला तथा योजना मन्त्रालय पाए ।
पहिलो सरकारमा मन्त्री बनिसकेका आचार्यलाई सत्ता समीकरण फेरिएपछि बनेको नयाँ सरकारमा पनि माओवादी केन्द्रले पुनः मन्त्रीका रूपमा पठायो । उनको नियुक्तिपछि पार्टीभित्र र बाहिर प्रचण्डसँग जोडिएर आलोचना पनि भएको थियो ।
त्यसपछि कोशीमा सरकार फेरबदलको शृंखला चलिरह्यो । उद्धव थापा दुईपटक मुख्यमन्त्री बने, हिक्मतकुमार कार्की पुनः मुख्यमन्त्री बने, केदार कार्कीको सरकार पनि बन्यो ।
पछिल्लो समय एमाले-कांग्रेसको सत्ता साझेदारी सातै प्रदेशमा टुट्ने अवस्थामा पुग्यो । यसबाट कोशी प्रदेश पनि अछुतो रहेन । कांग्रेसका मन्त्रीहरुले सामुहिक राजीनामा दिए । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपामा संयोजक प्रचण्डबिच केहि दिन अगाडि प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको थियो ।
कांग्रेससँगको सहकार्य टुंगिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गरे । त्यसक्रममा नेकपाका चार सांसदलाई सरकारमा सहभागी गराउँदा जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
आचार्य मोरङ ६ (१) बाट निर्वाचित सांसद हुन् ।




प्रतिक्रिया