काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देशको ऊर्जा प्रणालीमा देखिएका समस्या समाधान र विद्युत वितरण प्रणालीको सुदृढीकरण सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विद्युत निर्यातसँगै आन्तरिक आपूर्तिलाई गुणस्तरीय बनाउन मन्त्रालय गम्भीर रहेको बताए ।
मन्त्री श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले विद्युत निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । यद्यपि नेपालका जलविद्युत आयोजना मुख्यतः नदी प्रवाहमा आधारित (आरओआर) भएकाले वर्षायाममा बढी भएको विद्युत निर्यात गर्नुपर्ने र सुक्खायाममा १० अर्ब ५५ करोड रुपैयाँ बराबरको विद्युत आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
विद्युत आपूर्तिमा देखिने ‘ट्रिपिङ’ र अघोषित लोडसेडिङबारे सांसद वासना थापाले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विद्युत निर्यात र स्वदेशी आपूर्ति एकअर्काका विरोधाभास नभएको बताए ।
‘विद्युत निर्यात र स्वदेशी आपूर्ति एकअर्काका विरोधाभास होइनन् । अहिलेको मुख्य चुनौती उत्पादनमा मात्र नभई प्रसारण तथा वितरण पूर्वाधारको न्यून क्षमता र जीर्ण अवस्थामा छ,’ उनले भने ।




प्रतिक्रिया