४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ


काठमाडाैँ । विश्वका १० मध्ये चारवटा स्वास्थ्य सेवा संस्थाले मात्र बिरामी तथा स्वास्थ्यकर्मीका लागि आवश्यक आधारभूत सरसफाइ मापदण्ड पूरा गरेका छन्। संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र युनिसेफले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका ११ प्रतिशत स्वास्थ्य संस्थामा सरसफाइ सेवा नै उपलब्ध छैन।

डब्लुएचओ र युनिसेफको प्रतिवेदनले पहिलोपटक स्वास्थ्य सेवा संस्थामा आधारभूत सरसफाइ सेवाको विश्वव्यापी अवस्था मापन गरेको हो। सन् २०२५ का लागि गरिएको अनुमानमा केवल ४० प्रतिशत स्वास्थ्य संस्थामा बिरामी तथा कर्मचारीका आवश्यकता पूरा गर्ने, पहुँचयोग्य र प्रयोग गर्न मिल्ने शौचालय रहेको पाइएको छ।

आधारभूत सरसफाइ मापदण्ड पूरा गर्न कर्मचारीका लागि छुट्टै कम्तीमा एउटा शौचालय, महिनावारी स्वच्छताका सुविधासहित कम्तीमा एउटा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय तथा सीमित गतिशीलता भएका व्यक्तिका लागि पहुँचयोग्य कम्तीमा एउटा शौचालय हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

सत्तरी देशको तथ्याङ्कमा आधारित प्रतिवेदनले स्वास्थ्य संस्थामा सरसफाइ सेवाको अवस्था क्षेत्रअनुसार निकै फरक रहेको देखाएको छ । उपसहारा अफ्रिकाका केवल २३ प्रतिशत स्वास्थ्य संस्थाले आधारभूत सरसफाइ सेवा उपलब्ध गराएका छन् भने मध्य तथा दक्षिण एसियामा यस्तो सेवा उपलब्ध गराउने संस्थाको हिस्सा ५५ प्रतिशत रहेको छ ।

प्रतिवेदनअनुसार विश्वभर १० मध्ये एकभन्दा बढी स्वास्थ्य संस्थामा कुनै प्रकारको सरसफाइ सेवा छैन । यस्ता संस्थाले करिब ९३ करोड ६० लाख मानिसलाई स्वास्थ्य सेवा प्रदान गर्ने गरेका छन् ।

सरसफाइबाहेक प्रतिवेदनले स्वास्थ्य संस्थामा सुरक्षित खानेपानी, स्वच्छता, वातावरणीय सफाइ तथा स्वास्थ्य सेवा फोहोर व्यवस्थापनको अवस्थासमेत मूल्याङ्कन गरेको छ । सन् २०२५ मा विश्वका करिब ८५ प्रतिशत स्वास्थ्य संस्थामा आधारभूत खानेपानी सेवा, ७२ प्रतिशतमा आधारभूत स्वच्छता सेवा र ७१ प्रतिशतमा स्वास्थ्य सेवा फोहोर व्यवस्थापनका आधारभूत सुविधा रहेको पाइएको छ ।

वातावरणीय सफाइको अवस्था भने अझ कमजोर देखिएको छ । केवल ५९ प्रतिशत स्वास्थ्य संस्थाले आधारभूत वातावरणीय सफाइ मापदण्ड पूरा गरेका छन् । यसका लागि निश्चित सफाइ प्रक्रिया तथा त्यसमा तालिमप्राप्त कर्मचारी आवश्यक पर्ने र सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा यसको महत्त्वपूर्ण भूमिका रहने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार करिब एक अर्ब ५० करोड मानिसलाई सेवा प्रदान गर्ने १८ प्रतिशत स्वास्थ्य संस्थाले वातावरणीय सफाइका कुनै पनि आधारभूत आवश्यकता पूरा गरेका छैनन् । यससम्बन्धी निष्कर्ष ५४ देशको तथ्याङ्कमा आधारित छ ।

गरिब तथा विकासका दृष्टिले पछाडि परेका देशमा स्वास्थ्य संस्थाको सरसफाइ अवस्था अझ कमजोर रहेको पाइएको छ । विश्वका अति कम विकसित राष्ट्रमा केवल २४ प्रतिशत स्वास्थ्य संस्थाले आधारभूत वातावरणीय सफाइ मापदण्ड पूरा गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका स्वास्थ्य तथा बालसम्बन्धी निकायले स्वास्थ्य संस्थामा सरसफाइ, खानेपानी र फोहोर व्यवस्थापनको कमजोर अवस्थाले बिरामी तथा स्वास्थ्यकर्मी दुवैको स्वास्थ्य जोखिम बढाउन सक्ने भएकाले आधारभूत सुविधामा लगानी र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको औँल्याएका छन् । रासस