संसदमा तथ्य र तर्कमा जोड दिन लामिछानेको निर्देशन


काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसदमा प्रस्तुत हुने व्यवहारबारे आन्तरिक समीक्षा तथा छलफल गरेको छ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा बसेको बैठकमा संसदमा अपनाउनुपर्ने भाषा, व्यवहार र प्रस्तुतीकरणका विषयमा गहन चर्चा भएको हो।

पछिल्लो समय संसदको प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले दिएका चेतावनीपूर्ण जवाफ र सांसदहरूले देखाउने रुखो तथा अमर्यादित व्यवहारलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला रास्वपाले आफ्ना जनप्रतिनिधिलाई संयमित बनाउन यो कदम चालेको हो। विशेषगरी संसदीय समिति र संसदका बैठकहरूमा असन्तुष्टि जनाउँदा सन्तुलित शैली अपनाउन नसकेको भन्दै पार्टीभित्रै र बाहिरसमेत प्रश्न उठेको थियो।

बैठकमा सभापति लामिछानेले जनताका समस्या र सरोकारका विषयलाई प्रभावकारी, तथ्यपरक र मर्यादित ढंगले उठाउन निर्देशन दिएका छन्। संसदमा पार्टीको तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्नेमा जोड दिँदै उनले आक्रोशभन्दा पनि तथ्य, तर्क र मर्यादित भाषालाई प्राथमिकता दिन सांसदहरूलाई स्पष्ट मार्गदर्शन गराएका छन्।