कोसी कटानको जोखिममा परेका परिवारलाई स्थानान्तरण



सुनसरी ।  सप्तकोसी नदीको तीव्र कटानका कारण जोखिममा परेका बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टापुका सात परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

सप्तकोसी नदीले निरन्तर कटान गर्न थालेपछि अति जोखिममा परेका उनीहरूलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्थासहित स्थानान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिए ।

श्रीलंका टापुुको चिलिया र गरैयालगायतका क्षेत्रमा सप्तकोसी नदीले तीव्र कटान गरिरहेको छ । कटान नियन्त्रणका लागि बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकासँगै स्थानीयवासीको समन्वयमा अस्थायी तटबन्ध निर्माण भइरहेको नगरप्रमुख कार्कीले बताए । “बालुवा र सिमेन्टका बोरा भरेर नदी किनार जोगाउने प्रयास भइरहेको छ । ठूलो बाढी आयो भने यो प्रयासले मात्रै धान्न सक्दैन । यसले केही समयका लागि राहत दिन्छ, तर यो स्थायी समाधान होइन”, उनले भने । 

कटान नियन्त्रणका लागि गत वर्ष निर्माण गरिएका करिब १८ स्परमध्ये नौ वटा पूर्णरूपमा क्षतिग्रस्त भइसकेका छन् भने बाँकी स्परलाईसमेत नदीले कटान गरिरहेको नगरप्रमुख कार्कीले बताए ।

अहिले श्रीलंका टापु, चिलिया टापुमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा बराहक्षेत्र र बेलका नगरपालिकाको समन्वयमा श्रमदानमार्फत कटान रोक्ने प्रयास भइरहेको छ । 

सप्तकोसी नदीले धार परिवर्तन गरेर बनाएको चिलिया टापुमा अहिले पनि ठूलो संख्यामा बसोबास छ । बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–१, २ र ३ मा फैलिएको यस क्षेत्रमा हरेक वर्ष बर्खायाममा नदीको बहाव बढेसँगै बाढी र कटानको जोखिम बढ्ने गरेको छ ।

यस वर्ष चिलिया र गरैया क्षेत्रमा नदीले तीव्र कटान थालेपछि करिब सात सय घरपरिवार प्रत्यक्ष जोखिममा रहेको नगरप्रमुख कार्कीले बताए । सप्तकोसीले बिस्तारै धार पश्चिमतर्फ मोड्ने संकेत दिएकाले बाक्लो मानव बस्ती रहेका क्षेत्रमा जोखिम झन् बढेको उनको भनाइ छ ।

हरेक वर्ष बर्खायाममा सप्तकोसीको बाढीले श्रीलंका टापुुको बस्ती डुबानमा पार्नुका साथै खेतीयोग्य जमिन कटान गरेर बगाउने गरेको छ । रासस