राप्रपा बागमतीमा चर्कियो विवाद: दलका नेता थापाको नेतृत्वमाथि नै उठ्यो प्रश्न


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलभित्रको विवाद उत्कर्षमा पुगेको छ। संसदीय दलका नेता उद्धव थापाले पार्टी र दलको आधिकारिक निर्णयविपरीत नेकपा (एमाले) का नेता किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुखसमक्ष पत्र बुझाएपछि विवादले उग्र रूप लिएको हो।

विवादकै बीच संसदीय दलका बहुमत सदस्यहरूले नेता थापाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई बुझाएको पत्रमा थापाले संसदीय दलको कुनै बैठक नै नबसी व्यक्तिगत लेटरप्याड प्रयोग गरेर मुख्यमन्त्रीमा समर्थन जनाएको उल्लेख गरेकी छन्। पार्टीको निर्णय र बृहत्तर हितविपरीत स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै थापाविरुद्ध भदौ १ गते नै बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको जानकारी प्रदेश प्रमुखलाई गराइएको छ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले गत साउन २० गते बागमती प्रदेश सरकार गठन प्रक्रियामा सहभागी नहुने औपचारिक निर्णय गरेको थियो। उक्त निर्णयअनुसार केन्द्रीय तहबाटै प्रदेश संसदीय दललाई सरकार गठनसम्बन्धी कुनै पनि छलफलमा नजान र कसैलाई समर्थन नगर्न स्पष्ट निर्देशन दिइएको थियो।

तर, सो निर्देशनलाई बेवास्ता गर्दै दलका नेता थापाले संसदीय दलको औपचारिक बैठकसमेत नबोलाई व्यक्तिगत लेटरप्याड प्रयोग गरेर एमालेका थापामगरलाई समर्थन गरेको प्रमुख सचेतक तामाङको आरोप छ। सञ्चारमाध्यमबाट समर्थन पत्रबारे जानकारी पाएपछि आफूहरू आश्चर्यचकित भएको पत्रमा उल्लेख छ।

साउन २१ गते स्वयम् उद्धव थापाको अध्यक्षतामा बसेको राप्रपा संसदीय दलको बैठकले बागमती प्रदेश सरकार गठनमा सहभागी नहुने र कुनै पनि दललाई समर्थन नगर्ने निर्णय गरेको थियो। तामाङले सोही बैठकको निर्णय (माइन्युट) समेत प्रदेश प्रमुखसमक्ष बुझाएकी छन्।

संसदीय दलको बैठकबाटै निर्णय भइसकेको अवस्थामा नेता थापाले व्यक्तिगत रूपमा समर्थन पत्र बुझाएपछि उत्पन्न विवाद अब सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा मात्र सीमित रहेन। यसले संसदीय दलका नेता थापाको नेतृत्व र राजनीतिक निष्ठामाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।